
काठमाडौं । रौतहटको क्षेत्र नं –३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरी नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।
नेकपा माओवादीका उम्मेदवार बनेका रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले उनलाई कारबाही गरेको हो ।
रौतहटको क्षेत्र नं–३ मा प्रतिनिधिसभा उम्मेदवार गठबन्धनले सिट बाँडफाँट गर्दा माओवादी केन्द्रको भागमा परेको थियो ।
सोही क्षेत्रमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गरेको थियो ।
पार्टीले निर्णय गरे पनि उम्मेदवार रहेका धिरज पटेलले आफ्नो उम्मेदवारी कायम रहेको र साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने भन्दै चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेका छन ।
पार्टीको निर्णयलाई नमानेर चुनावी प्रचार–प्रसारमा लागेको भन्दै माओवादी केन्द्रले आज पटेलको सदस्यता खारेज गरेको छ।
नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साहले पटेललाई अनुशासनको कारबाही गरेको र पटेल पार्टी सदस्य पनि नरहेको बताएका छन् ।
उनले भने,“ प्रभु साहलाई सघाउन दिएको निर्देशनलाई अटेर गर्दै,अनावश्यक प्रचार प्रसार गरेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको हो ।