काठमाडौं । सम्माननीय कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षााकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उनको भनाइ छ । नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्ने उनको जोड छ ।
नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा आयोजित समारोहमा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले नेपालका कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।
“हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली बस्तु निकासी गर्न सक्नुपर्छ र यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक छ,” उनले भने ।
चीनजस्तो संसारकै आर्थिक रुपमा महाशक्ति राष्ट्रसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हाम्रा लागि नेपालका लागि ठूलो अवसर पनि भएको र चिनियाँ बजारमा नेपालले आफ्ना मौलिक उत्पादनहरु निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने बताए ।
नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाका अवसरमा संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको छ । निवर्तमान अध्यक्ष श्रेष्ठको कार्यकालमा नेपाली व्यवसायीले चिनियाँ मेलाहरुमा सहभागिताको अवसर पाएको र चीनका विभिन्न बिजनेस एशोसिएसनहरुसँग सहमति गर्न सफल भएको भन्दै सम्माान गरिएको संघका महासचिव विवेक पौडेलले जानकारी दिए ।