२०७९ असोज २७ गते ।
समय: बेलुका ९ बजे ।
निलडाम र चोटपटकले थिल्थिलो भएको शरिर लिएर एक महिला हस्याङफस्याङ गर्दै महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय रामगोपालपुर पुग्छिन् । आमा र भाईलाई समेत साथै लिएर प्रहरी कार्यालयमा पुगेकी उनी सामान्य मान्छेबाट होइन प्रतिष्ठित भनिएको पेसा डाक्टरबाट घरेलु हिंसाको शिकार भएकी नेहा चौधरी थिइन् । उनको चित्कारलाई प्रहरीले सुन्नै चाहेन । पटक–पटक हात जोडेर उजुरी दर्ता गराउन याचना गरिन् । तर, ईन्सपेक्टर आदित्य सिंहले उनको उजुरी लिन समेत अस्विकार गरिदिए । ‘भोली बिहान उजुरी बोकेर आउनु’ भन्दै उनीहरुलाई घर पठाइदिए ।
ईन्सपेक्टर आदित्य सिंह
न्यायको आशा बोकेर बर्दिधारी प्रहरीको शरणमा पुगेकी उनी भोलीपल्ट सिंह नेतृत्वको थाना तर्फ उनका पाइलाहरु चलेन । चार दिनपछि उनीहरु जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगे । जिप्रका महोत्तरी पुगेर उनीहरुले दर्ता गराए घरेलु हिंसाको उजुरी । दाइजो माग्दै कुटपिट गरेको भन्दै नेहाले आफ्नै श्रीमान पंकज चौधरी विरुद्ध उजुरी दिइन् । पंकज पेशाले एमविविएस डाक्टर हुन् । धापासीस्थित ग्रान्डी अस्पतालमा कार्यरत पंकजबाट नेहाले चरम यातना र कुटपीट भोग्नु परेको थियो ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पंकज पक्राउ परे, पक्राउ परेको दुई दिनपछि उनी रिहा भए । प्रहरीले उनीहरुलाई मिलाउने कोसिस गर्दा पंकजले उल्टै नेहालाई प्रहरी कार्यालयको महिला सेल भित्रै कुटपिट गरे । रिहा भए लगत्तै पंकजले जिल्ला अदालत महोत्तरीमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराए । सो मुद्धा अहिले अदालतमा विचाराधिन छ । चिकित्सक पेसा अपनाउने प्रतिष्ठित व्यक्तिबाट दाईजोको निहुँमा कुटपीट र यातनाको शिकार भएकी नेहाको केही महिना अघि मात्रै पंकजसँग प्रेम विवाह भएको थियो ।
˚˚˚
०७६ सालमा नेहा काठमाडौंको टाईम्स कलेजमा कक्षा १२ मा अध्ययन गर्थिन् । त्यतिबेला नै दिदि (ठूलोबाबुको छोरी) रागिनीको विवाह कार्यक्रम थियो । दिदिको विवाहका लागि उनी महोत्तरी फर्किइन् । रागिनीका देवर नाता पर्ने पंकजसँग उनको नजर जुध्यो । जन्ती बनेर आएका पंकज महोत्तरी रामगोपालपुर–५ का बासिन्दा थिए । पंकजसँग उनको समिप्यता बढ्दै गयो । उनीहरुबिचको सामिप्यता प्रेममा परिणत भयो । दुवैको प्रेमलाई पंकज र नेहाको परिवारले स्विकार पनि गरे । फलस्वरुप एक वर्षभित्रै वैवाहिक बन्धनमा बाधिने निधो भयो ।
०७७ साल फागुन २१ गते जनकपुरस्थित एक होटलमा १० लाख खर्च गरेर उनीहरुको मगनी (इङ्गेजमेन्ट) भयो । २०७८ वैशाख ३ गते विवाह गर्ने निर्णयमा दुवै परिवार पुगे । विवाहको तयारीका लागि नेहाको परिवारले लाखौँ खर्चिसकेको थियो । तर पंकजको दाई नेपालमा नभएको भन्दै उनको परिवारले विवाह रोक्न माग गरे । लाखौँ खर्चका बाबजुत नेहाको परिवारले विवाह सार्ने पंकजको परिवारको निर्णयमा सहमति जनाए । विवाह वैशाख २५ लाई सर्यो । उनीहरुको मनमा भने फेरी विवाह सर्ने हो की भन्ने आशंका थियो । त्यसैले उनीहरुले थप खर्च गरेनन् । पंकजको परिवार फेरी विवाह सार्न तम्सियो – मंसिर ५ । यसरी विवाह सार्नुको उद्देश्य थियो–‘दाइजोमा बार्गेनिङ’ ।
०७८ को छट ताका नेहाकी कान्छी बहिनीले मुस्लिम समुदायका युवकसँग आफूखुसी प्रेम विवाह गरिन्, जसको असर नेहाको विवाहमा पर्यो । दिदिले भन्दा बहिनी उत्ताउली भएको भन्दै पंकजको परिवारले नेहाको चरित्रमाथि प्रश्न उठाए र पाँच मंसिरमा गर्ने भनिएको विवाह दाईजोमा चित्त बुझेपछि २५ फागुनमा भयो । नेहाका परिवारल पंकजलाई एमडी पढाउनको लागि ५० लाख नगद, २० तोला सुन, तिन टिपर फर्निचर सामग्रीगरी अन्दाजी एक करोड २५ लाख बराबरको दाईजो दिए । सो भन्दा बढी रकम खर्च भएको आमा विन्दाको दाबी छ ।
˚˚˚
आफुले प्रेम गरेको मान्छेसँग विवाह गर्न पाँउदा नेहा निकै खुसी थिइन् । तर उनको खुसी धेरै समय टिक्न सकेन । विवाहको केही दिनमै पंकजका आमा गोदावरी देवी चौधरीले उनीमाथि यातना दिन सुरु गरिन् । नभएको आरोप लगाएर पटक पटक यातना दिँदा समेत उनले सासु (गादावरी देवि)विरुद्ध केही कदम उठाइनन् । नेहामाथि यातना थपिँदै गयो, सासुसँगै श्रीमानले समेत उनीमाथि कुटपिट गर्न थाले । ‘आफ्नो आमाले लगाएको झुटो आरोप सुनेर उहाँले मलाई पटक पटक कुटपिट गर्नुहुन्थ्यो,’ नेहाले दियोपोस्टसँग भनिन् ।
कुटपिट गर्ने पंकज कहिले काँही नाटकीय मायाँ देखाउँथे । शरीरमा चोट लागेपछि उनले उपचार गराउन अस्पताल लैजान्थे तर सासुमा भने दया पलाउँथेन । ‘उहाँले (पंकज) मलाई कुटपिट गरेपनि मलाई माया गर्नुहुन्थ्यो, मलाई चोट लागे अस्पताल लगेर उपचार गराउनुहुन्थ्यो, म पनि उहाँलाई सम्झाउँथे, अब मलाई कुटपिट नगर्नु भन्दा हुन्छ भन्नुहुन्थ्यो,’ नेहा भन्छिन्, ‘तर घर फर्किएपछि पुनः आमाको झूटा आरोपहरु सुनेर मलाई कुटपिट गर्नुहुन्थ्यो, उहाँको आमाले हामी सँगै भएको कहिल्यै देखिसहनु भएन ।’
दाईजोको माग र परपुरुषसँग लागेको आरोपसँगै नेहाले आफ्नै नन्दहरुबाट पनि धेरै नै याताना भोग्नुपरेको उनी बताउँछिन् । ‘महिला नै महिलाको दुश्मन हुन्छन् भन्थे हो रहेछ । नन्दहरु पनि भए–नभएका कुराहरु लगाइदिन्थे । म आफ्नो श्रीमानसंगै बस्छु र पढ्छु भन्दा पंकजको दिदि रेखाले बुहारीले घर हेर्ने, बाआमाको सेवा गर्ने हो भन्दै हप्काउनुहुन्थ्यो,’ भन्छिन्, ‘नन्दहरुको अनेक आरोपमा उहाँ (पंकज)ले मलाई धेरै पटक मरणसन्न हुनेगरी कुटपिट गर्नुभएको छ । उहाँले कुटपिट गरेपछि म अस्पताल नै भर्ना भएर बस्नु परेको पनि छ, तर उहाँले मलाई कहिल्यै राम्रो व्यवहार गर्न जान्नु भएन ।’
नेहाका अनुसार पंकजले नेहाको शरिर भरी टोकिदिएका थिए ।
‘एकपटक त मलाई मेरो शरिर भरी नै टोकिदिए । सबै ठाँउमा त देखाउन मिल्दैन तर, देखाउन मिल्ने ठाँउको देखाएर मैले सासुलाई पनि भनेकी थिएँ । तर, उहाँले यो त सामान्य हो भन्नुभयो । टोकेको ठाँउमा छाला नै निस्केको थियो त्यो कसरी सामान्य हुन्थ्यो र ? उहाँ उल्टै हाँस्नुभयो,’ नेहाले भनिन् ‘मेरो पिसाब गर्ने ठाँउबाट रगत बग्न थाल्यो । त्यो कुरा पनि बताए तर उहाँहरुले सामान्य हो भन्नुहुन्थ्यो । पंकजलाई केही भन्यो कि उहाँ मेरो कुरा नै सुन्दैनथे ।’
परिवारले यातना दिएपनि पंकजको मायाले उनी सहेर बसिन् । तर यातनाको हद गालिगलौच र कुटपिटमा मात्रै सिमित भएन, उनलाई परिवारले शंकाको दृष्टिकोणबाट हेर्न थाले, स्थानीय युवाहरुसँग नाम जोडेर उनीमाथि लान्छना शुरु भयो ।
‘गाली गलौच र कुटपिट मात्रै भएको भए म सहेर बस्थँे, एक न एक दिन सासुआमा परिवर्तन होला भन्ने आशमा बसेको थिएँ । तर कुरो शारिरीक चोटको मात्रै थिएन, उनीहरुले मलाई मानसिक रुपमा समेत ट्रचर दिन थालेका थिए, अन्य घरबाहिर कोही केटा बसेको भरमै ममाथि अनेक लाल्छना लगाउँथे,’ नेहाले भनिन्, ‘यातना सहन नसकेपछि मैले उहाँ (पंकज)लाई काठमाडौंमा आफैसँग राख्न अनुरोध गरेँ, तर उहाँले अस्विकार गनुभयो ।’
यातनाको हद पार भएपछि नेहाले पंकजसँग पटक पटक हारगुहार गरिन् । तर, पंकजले चासो समेत दिएनन् । ‘मैले तँलाई, घरको लागि विवाह गरेको हुँ, मेरो लागि होइन, त्यहीपनि काठमाडौंमा बस्नै मन छ भने तेरो बाउलाई घर बनाइदे भन् अनि विचार गर्छु,’ पंकजको भनाई उदृत गर्दै नेहा भन्छिन् । नेहाकी आमा विन्दाका अनुसार विवाहका लागि घर र जग्गा धितो राखेर बैंकबाट ऋण लिइएको छ ।‘घर र जग्गा धितोमा राखेर कर्जा लिएको पैसा दाइजो दिइयो, अब काठमाडौंमा घर बनाउने पैसा कहाँबाट ल्याउने, ?’ प्रश्न गर्दै नेहाकी आमा भन्छिन्,‘छोरीको खुसीको लागि कोसिस गरेकै थियौँ तर सकेनाँै, जसकारण मेरो छोरीले यातना भोग्नुपर्यो ।’
नेहाकी आमा विन्दा देवी चौधरी
आफुले यातना भोगिरहँदा शुरुमा नेहाले परिवारलाई सुनाइनन् । घरमै मिलाउने उनको कोसिस रहन्थ्यो । श्रीमानबाट मायाँ र दयाको आशामा कयौँ रात उनका आँखाहरु अनिदो बसे । तर, यातनाको ग्राफ झनै बढ्न थाल्यो । उनीमाथि पसुवत व्यवहार हुन थाल्यो । कुटपीटका नयाँ नयाँ शैलीहरु प्रयोग हुन थाले । कुटपिट गरेपछि ससुरा (राम प्रवेश चौधरी)ले नेहाकी आमालाई फोन गरेर छोरी लेजान उर्दि दिन्थे ।
‘छोरीमाथि कुटपिट भएको मलाई थाहा थिएन, पहिले नै थाहा भएको भए म छोरीलाई घरमा नै ल्याएर राख्थँे तर नेहाले मलाई भनिनन् । छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि सम्धी (रामप्रवेश)ले फोन गर्नुभयो र तपाईंको छोरी पागल भई भन्दै घर लैजान भन्थे,’ आमा विन्दा सुनाउँछिन्,‘खबर सुन्नासाथ म र छोरा तुरुन्त छोरीको ससुराल (रामगोपालपुर) पुग्यौँ । त्यहाँ नेहा अचेत अवस्थामा थिइन् ।’
अचेत अवस्थामा रहेकी छोरीलाई बोकेर विन्दा देवी जलेश्वरस्थित जलेश्वर अस्पतालमा पुगिन् । कुटपिट सामान्य थिएन, जसकारण नेहा लामो समयसम्म अस्पतालमै बस्नुपर्यो । उनीमाथि निर्मम तरिकाले कुटपिट भएको अस्पतालको रिपोर्टमा देखियो । जलेश्वर अस्पतालमा गरेको भिडियो एक्सरे रिपोर्टमा उनको पेटमा निकै गहिरो चोट परेको र टोकाइका कारण गुप्ताङ्गबाट रगत बगेको देखियो ।
‘मेरी छोरीलाई यस्तो अवस्थामा देखेपछि मलाई फिटिक्कै सह्य भएन । म तुरुन्त न्यायको लागि प्रहरी गुहार्न पुगेँ,’ आमा विन्दा भन्छिन्,‘ मेरो छोरीलाई मानव सरह बाच्न पाउने अधिकारको माग गर्दै प्रहरी समक्ष पुगेको थिएँ तर उहाँहरु सम्बन्ध विच्छेदतर्फ लाग्नुभो ।’
अझैँ सँगै बस्न नेहाको कसरत…
नेहाले जिप्रकामा उजुरी दिएसँगै पंकजले समेत जिल्ला अदालत महोत्तरीमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराए । जो नेहा चाहँदिनन् । नेहाले सम्बन्ध विच्चेद नचाहेको तर सम्मानपूर्वक श्रीमानसँगै बस्न पाउँने माग गरेकी छिन् ।
‘उहाँले मलाई छोडोस् भनेर मैले जिप्रकामा उजुरी दिएको होइन,’ उनी भन्छिन्,‘म त उहाँसँगै बस्न पाउछु भन्ने आशले उजुरी दिएको थिएँ तर सबै खत्तम भयो । उहाँले त सम्बन्ध विच्छेदको मुद्दा पो दायर गर्नु भएछ । जाहेरी दिनु नै गल्ति गल्ती गरेछु ।’
पंकजलाई प्रहरी प्रशासनको आड !
नेहामाथि कुटपीट र हिंसा भएपनि प्रहरीले भने पंकजलाई संरक्षण गरेको आरोप छ । ईलाका प्रहरी कार्यालयले नेहाको उजुरी लिन समेत अस्विकार गर्नुले यो आरोपलाई पुष्टि गर्छ ।
जिल्ला प्रहरी कार्यालय, महिला सेल भित्रको मेलमिलाप कक्षभित्रै पंकजले नेहालाई झाप्पड हानेको उनको बयान छ । ‘मेलमिलाप कक्ष भित्र उहाँले मलाई झाप्पड हान्नुभयो र बाहिर गएर आफै यो केटिसँग म कुरा गर्दिन यो बहुला हो भन्दै चिच्यान थाल्नुभयो,’ नेहाले भनिन्, ‘म अचम्म परेँ, मेरो कुरा सुन्ने कोही भएनन्, प्रशासनका मान्छेहरुले पनि पंकजलाई नै समर्थन गरेको देखिन्थ्यो ।’ नेहालाई पंकजले प्रहरीको महिला सेल भित्रै झाप्पड हानेको कुरा नेहाका वकिल प्रमोद कुमार साह र जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक अधिकारीले समेत स्विकार गरेका छन् ।
नेहाकी आमा विन्दाले भनिन् ‘पहिले हामीलाई प्रहरीले राम्रैसँग सहयोग गरिरहेका थियो तर दामादले (पंकज) एसपीभन्दा ठुलो मान्छेसँग कुरा गर्छु भनेपछि प्रहरीले हामीलाई टेर्न छाडे ।’
छलफलका लागि बोलाएको बेलामा पंकज नजाँदा समेत प्रहरीले उनीमाथि कुनै एक्सन नलिएको नेहाको आरोप छ । ‘प्रहरीले बोलाउँदा म सधैँ समयमा पुग्थेँ तर पंकज कहिल्यै आएनन्,‘नेहा भन्छिन्,‘ पंकज यति धेरै लाचार बन्दा पनि प्रहरीले उहाँ (पंकज) विरुद्ध कुनै कदम उठाएन ।’
तर जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक (इन्सपेक्टर) सरोज राईले भने नेहा नै समयमा उपस्थित नभएको आरोप लगाए । ‘पंकज समयमा नै आउँछन् बरु नेहा जी आउनुहुन्न ।’ इन्सपेक्टर राईले हास्दै भने, ‘जो चोर उस्कै ठूलो श्वर ।’
पंकजले आफु चिकित्सक भएको लाभ उठाउन खोजेको र प्रशासनलाई आफ्नो बसमा लिएर आफू अनुकुल बनाउन प्रयास गरेको नेहाको आरोप छ । तर नेहा तर्फबाट वकालत गरिरहेका अधिवक्ता प्रमोद कुमारले भने पंकजले त्यस्तो गर्न नसक्ने बताए । अधिवक्ता प्रमोदले भने,‘जिप्रकाले बेला–बेला दुवैलाई बोलाएको छ । तर, केटा कुरा गर्न नै आँउदैन । नेहाको सम्बन्ध तोड्ने इच्छा छैन तर, पंकजले माफी मागेर सम्मानका साथ राख्दैनन् । उसको संगै बस्ने चाहना छैन ।’
पंकजको दाबी: ‘ममाथि लगाएको सबै आरोप झूटो हो’
नेहाले लगाएको आरोप साँचो नभएको पंकजको दाबी छ । ‘नेहाले ममाथि लगाएको आरोप सब झुठो हो । उसले मिडियामा जसरी बोलेको छ त्यो गलत छ,’ पंकजले दियोपोस्टसँग भने । ‘म पनि अब सामाजिक संजालमा लेख्छु ।’
नेहाले लगाएको आरोपहरु निराधार रहेको भन्दै पंकजले उच्च अदालत जनपुरमा समेत निषेधाज्ञाको मुदा दर्ता गराएका छन् ।
विवाहको दुई महिनापछि नेहाले उनीमाथि अनेक आरोप लगाएको पंकजको भनाइ छ । ‘विवाहको २ महिनायता नेहाको व्यवहारमा झन् परिवर्तन भई तपाईंलाई म जे पनि गर्नसक्छु म आफु पनि जे पनि गर्न सक्छु, तपाईंको परिवारलाई समेत फँसाउने छु भन्न थालेकी थिइन्,’ पंकजले भने, ‘नेहाले मसँग विवाद गरेर घरबाट आफ्नो सबै गरगहनाहरु समेत लिएर माइतमै बस्दै आएकी थिइन् । उनले अनावश्यक औषधीहरु खाने गरेकी थिइन् । रोक्दा गाली गलौज गर्ने गरेकी थिइन् ।’
नेहाले आफ्नो माइतीको उक्साहटमा लागेर स–सानो कुरामा पनि रिसाउने, झगडा गर्ने, घर व्यवहारमा वेवास्ता गरी अशान्ति मच्चाउने, ज्यान मार्ने धम्की समेत दिने गरी मानसिक तनाव दिदैँ आएको पंकजको आरोप छ । ‘नेहालाई सम्झाउँदा सम्झाउँदा उल्टै म माथि नै हातपात गर्न थालिन्,’ पंकजको खण्डन् छ,‘नेहाले गत असोज २० गते म सँग वादविवाद गर्दै झगडा गरिन् । कुनै हालतमा पनि तिमीसित बस्दिनँ, तिमी भन्दा राम्रो केटा मसँग बिहे गर्न खोजेको थियो । तिमीलाई फसाउँछु भन्दै माइत गएकी थिइन् ।’
‘पेटमा हानेको र कुटपिट गरेको प्रमाण रहेछ । तपाईले नेहालाई कुटनुभएको हो ?’ भन्ने दियोपोस्टको प्रश्नमा पंकज हच्किए र भने,‘प्रमाण छ र ?’ अन्य विषयमा भने उनले बोल्न चाहेनन् ।
भिडियोमा हेर्नुहोस् :