बलात्कार आरोप लागेका श्रीलंकन क्रिकेटर धरौटीमा छुटे

दियोपोस्ट संवाददाता

काठमाडौं । बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दनुस्का गुनथिलका विभिन्न सर्तहरु सहित धरौटीमा रिहा भएका छन् ।
उनलाई अष्ट्रेलियन डलर १ लाख ५० हजार धरौटीमा रिहा गर्न सिड्नीको डाउनिङ सेन्टर लोकल कोर्टले आदेश दिएको हो ।

उनी गत नोभेम्बर ६ मा सिड्नी हायत रिजेन्सी होटलबाट पक्राउ परेका थिए । उनले २९ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
उनले भर्चुअल माध्यमबाट सिडनी डाउनिङ सेन्टर लोकल कोर्टमा भएको सुनवाइमा उपस्थिति जनाएपछि म्याजिस्ट्रेट जेनेट वाहलक्वीस्टले धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।

अदालतमा पेश भएको प्रहरीको अभियोग पत्रमा दनुस्काले बल प्रयोग गरेर जाहेरीकर्तासँग जबरजस्ती यौन सम्बन्ध राखेको उल्लेख गरिएको छ ।‘जाहेरीकर्ताले आरोपीको हातमा समातेर उसलाई हटाउने कोशिस गरिन्, तर आरोपीले उनको घाँटीमै अँठ्याए । जाहेरीकर्तालाई मृत्युको डर भयो र आरोपीबाट छुटकारा पाउन सकिनन्’ अभियोग पत्रमा लेखिएको छ ।

प्रहरीलाई दिएको बयानमा उनले जाहेरीकर्तासँग शारीरिक सम्बन्ध रहेको तर, जबरजस्ती नगरेको बताएका छन् ।

अदालतले दनुस्कालाई धरौटीमा रिहा गर्नुका साथै विभिन्न सर्तहरू पनि राखेको छ । उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टहरु खोल्न र कुनैपनि डेटिङ एपहरुको प्रयोग गर्न पाउने छैनन् ।

सम्बन्धित खबर

सिफारिस