गोल्डेन बुट लगाएर विश्वकप खेल्दै मेसी

दियो पोस्ट  

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतार विश्वकपमा गोल्डेन बुट लगाएर खेल्ने भएका छन् । सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीले पहिलो पटक विश्वकप जित्न सबै प्रयास गर्ने भएका छन् ।

मेसीको टोली अर्जेन्टिनाले लगातार ३६ खेलमा हार बेहोरेको छैन । अब यी बुटहरूले मेसीलाई गोल गर्न मद्दत गर्नेछन् । एडिडासले मेसीका लागि यी विशेष जुत्ता तयार पारेको बताइएको छ ।

हालै सार्बजनिक गरिएको मेसीको गोल्डेन बूट मेसीले २००६ मा पहिलो विश्वकप खेल्दा लगायेको बुटसँग प्रेरित भएर बनाइएको बताइएको छ । एडिडासको एक्स स्पीडपोर्टल बुट लगाएर मेसीले नोभेम्बर २२ मा साउदी अरेबियाविरुद्ध खेल्नेछन् । यस बुटमा अर्जेन्टिनाको झण्डामा सेतो र नीलो रंगहरू समावेश गरिएको छ ।

मेसीले अक्टोबरमा नै आफ्नो अगाडी विश्वकप ट्रफी जित्ने अन्तिम मौका रहेको बताएका थिए । मेसीले आफ्नो करियरमा विश्वकप ट्रफी बाहेक सबै उपलब्धि हासिल गरेका छन् । मेसीले २०१४ मा यो ट्रफी जित्ने मौका पाए तर फाइनलमा उनको टोली जर्मनीसँग १-० ले पराजित भयो । अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो भने यो पटक विश्वकप ट्रफी जित्ने दावेदारमा छ ।

सन् २०१६ कोपा अमेरिकाको फाइनलमा चिलीसँगको हारपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए, तर पछि उनले आफ्नो निर्णय परिवर्तन गरे र आजसम्म पनि टोलीको कप्तानी गरिरहेका छन् ।

मेसीले पहिलो पटक २००६ फिफा विश्वकप खेलेका थिए र यो उनको पाँचौं विश्वकप हो । फिफा विश्वकपमा सबैभन्दा धेरै १९ खेल खेल्ने कीर्तिमान पनि मेसीको नाममा रहेको छ । मेसीले विश्वकपका १९ खेलमा ६ गोल गरेका छन् भने ५ गोल असिस्ट गरेका छन् । साथै, उनले आफ्नो देशका लागि सबैभन्दा धेरै खेल खेलेका छन् । मेसीले अर्जेन्टिनाका लागि १६५ खेल खेलेका छन् भने ९१ गोल ​​गरेका छन् ।

सम्बन्धित खबर