विश्वकपअघि फ्रान्सलाई झड्का, करिम बेन्जेमा टिमबाट बाहिरिए

दियो पोस्ट  

फ्रान्सका मुख्य फरवार्ड करिम बेन्जेमा विश्वकप फुटबलबाट बाहिरिएका छन् । आइतबार (आज) बाट कतारमा सुरु हुने विश्वकपको लागि प्रशिक्षण गर्ने क्रममा चोट लागेका बेन्जेमा टिमबाट बाहिरिएका हुन् ।

बेन्जेमा बाहिरिएसँगै फ्रान्सलाई ठूलो झड्का लागेको छ । बेन्जेमाको तिर्घामा चोट लागेको हो । खेलाडी चोटका कारण टिमबाट बाहिरिन थालेपछि फ्रान्स निकै तनाबमा आएको छ ।

यसअघि चोटकै कारण क्रिस्टोफर एनकुन्कु पनि टिमबाट बाहिरिएका थिए । चोटकै कारण पाउल पोग्बा र एंगोलो कान्टे टिममा परेका थिएनन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले बेन्जेमा टिमबाट बाहिरिएकोमा दुःख ब्यक्त गर्दै भनेका छन्, ‘म करिमको लागि धेरै दुःखी छु, जसले यो विश्वकप गुमाउँदैछन् । मलाई मेरो टिमप्रति पूर्ण विश्वास छ । हामी चुनौतीको सामना गर्न तयार छौ ।’

फ्रान्सले १९९८ र २०१८ मा गरी दुईपटक विश्वकप जितेको छ । समूह ‘डी’ मा रहेको फ्रान्ससँगै अस्ट्रेलिया, डेनमार्क  र ट्युनिसिया छन् ।

फ्रान्सले आफ्नो पहिलो खेल मंसिर ७ गते अस्ट्रेलियाविरुद्ध खेल्नेछ । त्यस्तै, आफ्नो दोस्रो खेलमा मंसिर १० गते डेनमार्कसँग खेल्ने फ्रान्सले समूह चरणको आफ्नो अन्तिम खेल ट्युनिसियासँग मंसिर १४ गते खेल्नेछ ।

सम्बन्धित खबर