सुनसरी ३ः चार हजार मतले पछि परे गच्छदार, रास्वपाका मैनाली तेस्रो स्थानमा

दियो पोस्ट  

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजय गच्छदार फराकिलो मतान्तरले पछि परेका छन् । गच्छदार भगवती चौधरी भन्दा ४ हजार मतले पछि परेका छन्। उक्त क्षेत्रबाट लगातार जितिरहेका गच्छदारलाई चौधरीले पहिलोपटक हराउने संकेत देखिएको छ। यसअघि पनि उनीहरुबीच प्रतिष्पर्धा भएको थियो तर सबैपल्ट गच्छदारले बाजी मारेका थिए। एमालेकी उम्मेदवार चौधरीले २९ हजार १ सय ६४ मत पाएकी छिन्।

गच्छदार २४ हजार ७ सय ९२ मतसहित पछ्याइरहेका छन्। सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल बाबु मैनालीले भने ६ हजार २० मत मात्रै पाएका छन्।

गच्छदारविरुद्ध ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते उनीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैर कानुनी कार्य गरेको अभियोग पत्रमा उल्लेख छ ।