
अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस। तस्बिर : whitehouse.gov
काठमाडौं। अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ। यसपटकको निर्वाचनमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ। निर्वाचनपछि अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि ट्रम्पले पुनरागमन गर्ने भन्नेमा सबैको ध्यान केन्द्रित छ। आजको मतदानपछि चयन भएका राष्ट्रपतिको कार्यकाल आगामी जनवरी २०२५ मा चार वर्षका लागि सुरु हुनेछ।
अमेरिकामा राष्ट्रपति को बन्ने भन्ने कुरा न केवल अमेरिकी जनताका लागि, तर विश्वभरका लागि पनि चासोको विषय बनेको छ। अमेरिकी राष्ट्रपति स्वदेश मात्र नभई अन्तर्राष्ट्रिय र भूराजनीतिक मामिलामा पनि प्रभावशाली र निर्णायक मानिन्छन्।
अमेरिकी राष्ट्रपतिको तलब पनि चासोको विषय हो। अमेरिकी राष्ट्रपतिको वार्षिक तलब ४ लाख डलर रहेको छ, जुन औसत अमेरिकीको तलबभन्दा लगभग ६ गुणा बढी हो। त्यस्तै, उनीहरूले अतिरिक्त ५० हजार डलर व्यक्तिगत खर्चका लागि पाउँछन्, साथै ह्वाइट हाउसमा बसोबास र विविध सुविधाहरू निःशुल्क उपलब्ध गराइन्छ।
राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय वाशिंगटन डीसीको ह्वाइट हाउसमा छ, जहाँ प्रवेश गर्दा उनीहरूलाई एक लाख डलर दिइन्छ, जसलाई घरको सजावटमा खर्च गर्न सकिन्छ। मनोरञ्जन, कर्मचारी र भान्छा खर्चका लागि पनि वार्षिक १९ हजार डलर अतिरिक्त रकम दिइन्छ। अमेरिकी राष्ट्रपतिको सबै स्वास्थ्य सेवा निःशुल्क हुन्छ।
राष्ट्रपतिका लागि यात्रामा प्रयोग गरिने लिमोजिन कार, मरीन वन हेलिकप्टर र एयर फोर्स वान जस्ता अत्याधुनिक साधन उपलब्ध गराइन्छन्। यी सवारीसाधन उच्च सुरक्षासहितका हुन्छन्, र एयर फोर्स वानलाई ‘फ्लाइङ क्यासल’ वा ‘फ्लाइङ ह्वाइट हाउस’ पनि भनिन्छ।
२००१ यता अमेरिकी राष्ट्रपतिको तलब वृद्धि गरिएको छैन। त्यो समय जर्ज डब्लु बुशले पद ग्रहण गर्दा यो तलब निर्धारण गरिएको थियो। साथै, डोनाल्ड ट्रम्प, जोन एफ केनेडी, र हर्बर्ट हुवरजस्ता धनी राष्ट्रपतिहरूले आफ्नो तलब दान गरेका थिए। अवकाशपछि अमेरिकी राष्ट्रपतिले वार्षिक २ लाख ४० हजार डलर पेन्सन प्राप्त गर्छन्।
आजको निर्वाचनले अमेरिकी राजनीतिमा नयाँ अध्याय लेख्नेछ र यसका परिणामले विश्वभर प्रभाव पार्नसक्छ।