काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको हो ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा समेटियो । कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि रचना चौधरी र सीमा केसीले समान २ विकेट लिए ।
पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले समान १ विकेट आफ्नो नाममा गरे । त्यसअघि अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन् । सना प्रधानले २५ रन थपिन्। ज्योत्सिना मरासिनी २३ र अलिसा यादव १५ रनमा पेभेलियन फर्के । नेपालले २४ गते युएई र २५ गते पुनः थाइल्यान्डसँग खेल्नेछ।