माओवादी केन्द्रको ‘महाधिवेशन’ आयोजक समिति बैठक प्रज्ञा भवनमा, जनार्दन शर्माले छुट्टै पत्रकार सम्मेलन गर्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन केन्द्रीय आयोजक समितिको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा बस्ने तयारी भएको छ । बैठकमा आगामी महाधिवेशन तयारीलाई लक्षित गर्दै पार्टीको संगठनात्मक पुनर्गठन, महाधिवेशनको मिति र तयारीसम्बन्धी एजेण्डामा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी राजनीतिक दिशा, पार्टीभित्रको एकता सुदृढीकरण तथा सरकारमा माओवादी केन्द्रको भूमिका सम्बन्धी विषयमा मन्तव्य दिने कार्यक्रम रहेको छ । साथै, महाधिवेशनका लागि आवश्यक तयारी समिति गठन, प्रतिनिधि छनोट प्रक्रिया र नीतिगत दस्तावेजबारे विस्तृत रूपमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसैबीच, जनार्दन शर्मा समूहले ‘प्रगतिशील वाम ध्रुवीकरण’ सम्बन्धी धारणा सार्वजनिक गर्नका लागि आज दिउँसो ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । सो समूहले माओवादी आन्दोलनलाई पुनः सशक्त र वैचारिक रूपमा स्पष्ट बनाउने उद्देश्यका साथ नयाँ वाम ध्रुव निर्माण गर्नुपर्ने धारणा अघि सारेका छन् ।

शर्मा समूहले माओवादी केन्द्रभित्र वैचारिक र संगठनात्मक स्पष्टता नहुँदा पार्टी कमजोर बन्दै गएको आरोप लगाउँदै, पार्टीभित्र सुधार, नीति पुनःसंरचना र युवा पुस्ताको सशक्त सहभागिताका विषयमा जोड दिने बताएको छ ।

आजको दुवै कार्यक्रम प्रचण्ड नेतृत्वको बैठक र शर्मा समूहको पत्रकार सम्मेलनले माओवादी केन्द्रभित्रको अन्तरिक शक्ति सन्तुलन र भविष्यको राजनीतिक दिशाबारे नयाँ संकेत दिने अनुमान गरिएको छ ।