काठमाडौँ । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनाइएका संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। पूर्व उर्जामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता दिपक खड्काले स्काउटको जग्गामा निर्माण गरेका अबैध संरचनामाथि महानगरले बिहबार डोजर चलाएको हो ।
नेता खड्काले आफ्नो कम्पनी ‘खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि’मार्फत स्कउटको जग्गा कब्जा गरि अबैध रुपमा संरचना निर्माण गरेका थिए ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले स्काउटको जग्गा र बनेका संरचनाको बहाल बक्यौता रकम तिर्न पूर्व मन्त्री दिपक खड्काको कम्पनीका नाममा सूचना जारी समेत गरेको थियो । तर, उक्त म्याद सकिएपछि स्काउटले त्यहाँ बनाइएका भवन र सामग्री जफत गर्ने चेतावनीसमेत दिएको थियो।
अन्तिम म्याद सकिएलगत्तै काठमाडौं महानगर प्रहरीको टोली डोजरसहित पुगेर ती संरचना भत्काउने कार्य सुरु गरेको हो।
नेपाल स्काउटले २०६५ सालमा करिब ३ रोपनी क्षेत्रफलको जग्गा खड्का ल्याण्ड डेभलपमेन्टलाई भाडामा दिएको थियो। त्यसपछि सो कम्पनीले त्यहाँ ‘लैनचौर ब्याङ्क्वेट’ सञ्चालनमा ल्याएको थियो। साथै, ‘माई च्वाइस’ नामक रेस्टुरेन्टसमेत निर्माण गरिएको थियो।
खड्का ल्याण्ड डेभलपमेन्टले स्काउटका दुईवटा व्यवसायिक भवन पनि भाडामा लिएर सञ्चालन गरिरहेको थियो। तीमध्ये पहिलो भवनमा ३६ र दोस्रोमा १२ वटा पसल रहेका थिए। पहिलो भवन २०६३ सालमा र दोस्रो २०६४ सालमा टेन्डर प्रक्रियामार्फत खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएका थिए।


