काठमाडौं । जेन-जी बिद्रोहमाथि षड्यन्त्र भएको भन्दै जेनजी केन्द्र नेपालले खबरदारी प्रदर्शन गर्ने भएको छ । केन्द्रले बिहिबार दिउँसो १ बजे माइतीघर मण्डलामा खबरदारी प्रदर्शन गर्न लागेको हो ।
जेन-जी केन्द्रले जेन-जी आन्दोलनमाथि भइरहेको गलत व्याख्या, दमन र राजनीतिक हस्तक्षेपविरुद्ध सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
जेन-जी केन्द्र नेपालका प्रतिनिधिहरूले हालैको जेनजी बिद्रोहलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनीहरुका अनुसार, केही राजनीतिक शक्तिहरूले आन्दोलनको मागलाई तोडमोड गरी जनतामाझ भ्रम फैलाउने, आन्दोलनकारीहरूलाई विभाजन गर्ने र मूल उद्देश्य कमजोर पार्ने षड्यन्त्र भइरहेको छ ।
केन्द्रले भनेको छ, ‘जेन-जी बिद्रोह देशभित्रको सामाजिक न्याय, जातीय तथा लैङ्गिक समानता र नयाँ पुस्ताको अधिकारका पक्षमा भएको आन्दोलन हो। तर यसलाई व्यक्तिगत स्वार्थ र राजनीतिक लाभका लागि बदनाम गर्न खोजिँदैछ, जुन निन्दनीय र अस्वीकार्य छ।’
प्रदर्शनका आयोजकहरूले सरकारसँग जेनजी बिद्रोहका मागहरूलाई सम्मानपूर्वक सम्बोधन गर्न, आन्दोलनकारीहरूलाई दमन नगर्न र षड्यन्त्रमा संलग्न समूहहरूको अनुसन्धान गर्न माग गरेका छन्।
जेनजी केन्द्र नेपालले आजको खबरदारी प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ। उनीहरूले नागरिक समाज, युवा र सचेत समुदायलाई आन्दोलनप्रति एकता र समर्थनका लागि सहभागी हुन पनि आह्वान गरेका छन्।