बाँके। नेपालका धेरै दुर्गम गाउँहरूमा अझै पनि स्वास्थ्य सेवा पहुँचभन्दा टाढाको विषय बनेको छ। तर बाँकेको नरैनापुर गाउँपालिकामा भने सुरक्षित प्रसुती सेवाले सकारात्मक परिवर्तनको ल्याएको छ । त्यो परिवर्तन स्वास्थ्यकर्मी सामना क्षेत्रीको अथक प्रयास र मेहनतका कारण संभव भएको हो ।
नरैनापुर–१ की अनमी (सहायक नर्स मिडवाइफ) सामना क्षेत्रीको समर्पणले गाउँका आमाबाबु र नवजात शिशुहरूमा नयाँ आशा जगाएको छ।
स्वास्थ्य चौकीमा निरन्तर व्यस्त देखिने उनी कहिले सुत्केरी आमाको जाँचमा त कहिले नवजात शिशुको स्वास्थ्य परीक्षणमा व्यस्त हुन्छिन्। उनका स्नेही हात र आत्मीय व्यवहारले निश्चिन्तता र विश्वास जगाएको गाउँका महिलाहरु बताउँछन् ।
सामनाकै कारण जोखिम मोलेर घरमै बच्चा जन्माउने परम्परा हराउँदै गएको स्थानीयहरु बताउँछन् । सामनाको प्रेरणा र चौकीको सेवाले धेरै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै आएर सुरक्षित रूपमा सुत्केरी हुने गरेको स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यले बताए । जसका कारण मातृ मृत्युदरमा उल्लेख्य कमी आएको उनको भनाई छ ।
इन्चार्ज मौर्य भन्छन्, “हामी प्रत्येक आमालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निरन्तर प्रयासरत छौँ।”
रातको सन्नाटा होस् वा बिहानको व्यस्तता, सामना र उनको टोली सधैं सेवा–भावनासहित खटिरहेका हुन्छन्। सामना भन्छिन्, “नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति र मातृ स्वास्थ्य सचेतनाले ग्रामीण महिलाहरूमा अहिले स्वास्थ्यप्रतिको आत्मविश्वास बढेको छ।”
चालु आर्थिक वर्षको चार महिनामै ७३ जना नवजात शिशुहरू आफ्नै पहलमा स्वास्थ्य चौकीमा जन्मिएको उनले बताइएन् ।
त्यस्तै, स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार, गाउँमै दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएका कारण पछिल्लो समय स्वास्थ्य चौकीले २४ घण्टा सेवा दिन सक्षम भएका छन् ।
स्वास्थ्यकर्मीहरूको निरन्तर परिश्रम र स्थानीय सरकारको प्रतिबद्धताले गाउँको स्वास्थ्य क्षेत्रमा रूपान्तरण आएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । स्थानीय सरकार गठनपछि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आम नागरिकको पहुँच फराकिलो भएको उनले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सबैको साझा उत्तरदायित्व’ भएको भन्दै सबै वडा अध्यक्ष र स्थानीय इकाइलाई थप जिम्मेवार बन्न आग्रह गरे ।
नरैनापुर–६ का स्वास्थ्य चौकी इन्चार्ज भरत गोराथोकीले साउनदेखि कार्तिक २४ गतेसम्म ८० जना आमाले सुरक्षित प्रसूति सेवा पाएको बताए ।
त्यस्तै, स्वास्थ्य संयोजक कर्णका अनुसार, नरैनापुर–२ मा साउनदेखि असोजसम्म ४९ जना, वडा नं. ४ मा ७३ जना, र वडा नं. ५ मा ८९ जना आमाले सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन्।
गाउँमै सुरक्षित र भरपर्दो प्रसुती सेवा पाए पछि नरैनापुरका स्थानीय सुखी छन् । उनीहरु भन्छन्, ‘अब सुत्केररी गराउनसहर जानु पर्दैन, हाम्रो गाउँमै जीवनको रक्षा गर्ने हातहरू छन्।’
तर सबै वडामा अवस्था समान छैन। केही वडामा वडा अध्यक्षको लापरवाही र बजेट निकासामा ढिलाइका कारण स्वास्थ्यकर्मीहरूलाई अझै टर्चको उज्यालोमा प्रसूति गराउनुपर्ने बाध्यता छ।
यसबारे प्रमुख प्रशासकीय अधिकृत वलीले स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न सबै जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिइएको जानकारी दिए । उनले आवश्यक रकम तत्काल निकासा गरेर स्वस्थ्य सेवा अवरुद्ध हुन नदिन सबैले जिम्मेवारी लिनुपर्ने बताए ।


