त्रिवि मैदानमा आजदेखि ‘एनपीएल’ दोस्रो संस्करण सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुँदैछ। फ्लड लाइट र प्यारापिटसहित स्तरोन्नति गरिएको मैदानमा पहिलोपटक एनपीएल आयोजना हुन लागेको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार उद्घाटन समारोह अपरान्ह २ बजे हुने भने पहिलो खेल ४ बजे सुरु हुनेछ। मंसिर २७ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल समावेश छन्।

नवीन सुविधासहित पुनर्संरचना भएको त्रिवि मैदान यसपटक क्रिकेटप्रेमीका लागि थप आकर्षणको विषय बनेको छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ।

रङ्गशालामा निर्माण गरिएको १० हजार क्षमताको प्यारापिटका कारण दर्शकले सिटमै बसेर खेल हेर्न सक्नेछन्, भने फ्लड लाइटले खेल रातिसमेत सञ्चालन गर्न सहज बनाएको छ। सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत आवश्यक संरचना क्यानलाई आइतबार मात्र हस्तान्तरण गरेको हो।

प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ। जनकपुर बोल्ट्सले पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरी उपाधि जितेको थियो। उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुने टोलीले रु १५ लाख प्राप्त गर्नेछ।

एनपीएलका सबै खेल त्रिवि मैदानमै हुनेछन्। क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ। उद्घाटन खेलका टिकट दुई दिनअघि नै सकिएको बताइएको छ।

शनिबारका लागि साधारण टिकट मूल्य रु ५०० र प्रिमियम १५ सय रुपैयाँ तोकिएको छ। लिग तथा अन्य दिनका खेलमा साधारण ५०० रुपैयाँ प्रिमियम १ हजार रुपैयाँ रहनेछ। प्लेअफपछि साधारण टिकट १ हजार रुपैयाँ र प्रिमियम २ हजार रुपैयाँ पर्नेछ। सिजनल टिकट १५ हजार रुपैयाँ राखिएको छ।

यस पटक एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। क्यानले दोस्रो संस्करणबाट करिब रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ।

सिफारिस