साउदी अरबमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । साउदी अरबको मक्का–मदिना मार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको भएको छ। मक्का बाट मदिना जाँदै गरेको बस मुफ़्रिहात नजिक एक डीजल ट्यांकरसँग ठोक्किएर आगलागी भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा बसमा यात्रा गरिरहेका ४३ जना यात्रु रहेकोमा ४२ जनाको मृत्यु भएको र १ जना मात्र बच्न सफल भएको अधिकारीहरूले जनाएका छन्। ति एक जना घाइतेको उपचार भइरहेको बताइएको छ ।

मृतकमध्ये २० महिला र ११ बालबालिका रहेको समाचार एजेन्सीहरूले उद्धृत गरेका छन्। मृतकमध्ये १६ जना हैदराबाद क्षेत्रका रहेको तेलंगाना सरकारले जनाएको छ।

स्थानीय समय अनुसार राति यात्रुहरू सुतिरहेको बेला दुर्घटना भएको र ठक्करपछिको आगलागीले क्षति बढाएको बताइएको छ।

दुर्घटनापछि भारतको जेद्दाहस्थित कन्सुलेट जनरलले २४ घन्टा सञ्चालन हुने कन्ट्रोल रुम स्थापना गरेको छ । प्रभावित परिवारका लागि हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ।

भारतका विदेश मामिलामन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि साउदी अधिकारीहरूसँग समन्वय भइरहेको बताएका छन्। बसमा भीषण आगलागी भएको दृश्यसमेत सार्वजनिक भएको छ, जसमा दुर्घटनापछि ट्यांकर र बस दुबै जल्दै गरेको देखिन्छ।

उद्धार कठिन भएको र शवको पहिचान प्रक्रिया अझै जारी रहेको जानकारी अधिकारीहरूले दिएका छन्। छानबिनका लागि साउदी सुरक्षी निकायले टोली खटाएको छ भने भारतले घटनाको विस्तृत प्रतिवेदन माग गरेको छ।

सिफारिस