काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा पत्रचार गरेको छ। बंगलादेशले ‘नोट भर्बाले’ नामक कूटनीतिक पत्र मार्फत पत्राचार गरेको हो ।
बंगलादेशका विदेश मामिला सल्लाहकारका अनुसार, बंगलादेशले आफ्नो पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न भारतलाई औपचारिक अनुरोध पेश गरेको छ। जसमा हसिनालाई न्यायिक प्रकृयाका लागि बंगलादेश ल्याउन चाहेको उल्लेख छ । बंगलादेशका विदेश मामिला सल्लाहकार तोहुयिद होस्सेनले भारतलाई स्पष्ट रूपमा आफ्नो स्थिति पठाएको र हसिनालाई फिर्ता बोलाउन चाहेको बताएका छन् ।
बंगलादेशले भारतलाई प्रत्यर्पणका लागि आवश्यक पुरा कागजातहरूको पठाइसकेको बताइएको छ। भारतस्थित परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार भारतले उक्त अनुरोध प्राप्त गरिसकेको छ। मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामीले बंगलादेश उच्चायोगबाट पत्र प्राप्त गरेका छौं ।’ तर केही विश्लेषकले भने यो कदम आगामी प्रत्यर्पणमा कानुनी अवरोध निम्त्याउन सक्ने पनि अन्दाज गरेका छन्।
बंगलादेश र भारतबीच २०१३ मा गरिएको प्रत्यर्पण सन्धिका कारण राजनीतिक अपराध सम्बन्धी प्रावधानले भारतलाई हसिनाको प्रत्यर्पण अस्वीकृत गर्न आधार दिन सक्ने बताइएको छ । यो कदमले भारत–बंगलादेशबीचको राजनीतिक र कूटनीतिक सम्बन्धमा तनाव ल्याउन सक्ने बिश्लेषकहरुको भनाई छ ।
यदि भारतले प्रत्यर्पण स्वीकृति दिएमा, हसिनालाई बंगलादेशमा न्यायिक प्रक्रियामा ल्याउने बाटो खुल्नेछ। तर, कानुनी र कूटनीतिक जटिलताहरू धेरै भएको जनाकारहरु बताउँछन् । अर्कोपट्टि, यदि भारतले नकार्यो भने, बंगलादेशले जस्तै, इन्टरपोलको सहयोगमा हसिनालाई खोज्न सक्ने बताइएको छ ।
विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनपछि हसिना भारत भागेकी थिइन्।