काठमाडौँ । कीर्तिपुरमा भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूलाई प्रभावित पारेर सट्टेबाजी गराउने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २८ वर्षीय दिलप्रित सिंह र २४ वर्षीय रेविका सिंह ठकुरी रहेका छन्।
उनीहरूले खेलाडीलाई आर्थिक प्रलोभन देखाई हारजितमा प्रभाव पार्न खोजेको सुराकी पाएपछि प्रहरीले लाजिम्पाट क्षेत्रबाट दुवैलाई पक्राउ गरेको बताइएको छ ।
जिल्ला प्रहरी परिसर भद्रकालीका एसपी काजीकुमार आचार्यका अनुसार उनीहरुले ह्वाट्सएप र इन्स्टाग्राममार्फत खेलाडीहरूलाई ‘स्पोन्सर’ गर्ने बहानामा खेलको नतिजामा असर पार्न खोजेका थिए ।
‘पहिले विज्ञापनका नाममा मेसेज पठाइएको रहेछ। पछि बेटिङका लागि दवाब दिने प्रयास भएको देखिएपछि खेलाडीहरूले रिपोर्ट गरेका हुन्,’ एसपी आचार्यले भने।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको उनले बताए ।