बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। शेरचनलाई बैंकिङ कसुरको आरोपमा सीआईबीको टोलीले आइतबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयमै पुगेर नियन्त्रणमा लिएको हो।

राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनलगायत विभिन्न आधारको अध्ययनपछि बैंकिङ कसुर सम्बन्धी मुद्दामा शेरचनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि, गत कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको सोही कार्यालयमा छापा मार्दै विभिन्न महत्वपूर्ण कागजात बरामद गरेको थियो।

सीआईबीले यसअघि नै कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरेको थियो। ९८ करोड रुपैयाँ ठगीसम्बन्धी मुद्दामा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएको उजुरीका आधारमा अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

सिफारिस