
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीबीचको प्रतिस्पर्धालाई निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ । पहिलो क्वालिफायर जित्ने टोलीले आगामी शनिबार हुने फाइनलमा सोझै स्थान बनाउनेछ भने पराजित हुने टोलीले पनि फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।
लिग चरणमा लुम्बिनी लायन्स सात खेलबाट पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द भएपछि ११ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम रोयल्सले पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थान हासिल गरेको हो ।
लुम्बिनीले प्रतियोगितामा तुलनात्मक रूपमा स्थिर प्रदर्शन गरेको छ । उत्कृष्ट नेट रनरेटसमेत कायम गरेको लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा छ । अर्कोतर्फ, प्रतियोगिताको सुरुवातमा अपेक्षाकृत कमजोर देखिएको सुदूरपश्चिमले पछिल्ला चार खेलमा लगातार जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ ।
लुम्बिनीका लागि आजको खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर पनि हो । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यस संस्करणको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो ।
त्यसैले पछिल्ला दुई भेटमा लुम्बिनीको पक्षमा नतिजा आएको छ । यद्यपि, समग्र एनपीएल इतिहासमा यी दुई टोलीबीच भएका चार खेलमा दुवैले समान दुई(दुई जित निकालेका छन् ।
लुम्बिनीको ब्याटिङमा डार्सी शर्ट, आसिफ शेख, कप्तान रोहित पौडेल, सन्दीप जोरा र निरोशन डिकवेलाको भूमिका महत्त्वपूर्ण हुनेछ । बलिङमा शेर मल्ल र रुबेन ट्रम्पलमन मुख्य हतियारका रूपमा रहनेछन् ।
लिग चरणमा डार्सी शर्टले टोलीका लागि सर्वाधिक १४८ रन बनाएका छन् । बलिङतर्फ शेर मल्लले नौ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरेका छन् ।
सुदूरपश्चिम रोयल्स पनि पहिलो क्वालिफायर जित्दै अघिल्ला दुई संस्करणको उपविजेता बनेको इतिहास बदल्ने योजनामा छ । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोलीले पछिल्ला चार खेल लगातार जित्दै उत्कृष्ट लय बनाएको छ ।
सुदूरपश्चिमको ब्याटिङमा कप्तान ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख र इशान पाण्डे महत्त्वपूर्ण खेलाडी हुन् । कप्तान ऐरीले लिग चरणमा १५० रन बनाउँदै ब्याटिङमा आफ्नो प्रभाव देखाएका छन् ।
बलिङमा अनिल खरेल र स्कट कुग्लेइन टोलीका मुख्य अस्त्र हुन् । अनिलले लिग चरणमा १० विकेट लिएका छन् । थरिन्दु रत्नायके, हेमन्त धामी र अविनाश बोहराले पनि बलिङमा योगदान दिन सक्छन् ।
लुम्बिनीको बलियो ब्याटिङ र सुदूरपश्चिमको पछिल्लो जितको लयबीचको प्रतिस्पर्धाले खेललाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
पहिलो क्वालिफायरको अर्को विशेषता भनेको पराजित हुने टोलीले पनि फाइनल पुग्ने अवसर पाउनु हो । पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले भने बुधबार हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
एलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन् । काठमाडौँ लिग चरणमा आठ अंकसहित तेस्रो र चितवन सात अंकसहित चौथो स्थानमा रहेका छन् ।
दोस्रो क्वालिफायर बिहीबार हुनेछ भने प्रतियोगिताको फाइनल आगामी शनिबार आयोजना हुनेछ ।
लुम्बिनीका लागि उपाधि रक्षा गर्ने यात्रालाई थप सहज बनाउने अवसर रहेको छ भने सुदूरपश्चिमका लागि पहिलो पटक एनपीएल उपाधि जित्ने अभियानमा फाइनल पुग्ने महत्त्वपूर्ण मौका हो । दुवै टोलीको वर्तमान लय, विगतका भेट र खेलाडीको प्रदर्शनलाई हेर्दा आजको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।