म्हैपीमा जुवा खेलिरहेका २४ जना पक्राउ, ९ लाख ६० हजार रुपैयाँ बरामद

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको म्हैपीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गएराति कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बानेश्वर बस्ने ४९ वर्षीय नीरज निरौला, बालुवाटारका वसन्त अधिकारी, म्हैपीका सुजन श्रेष्ठ, लोलाङका नारायण श्रेष्ठ, बालाजुका राजेश केसी, सातदोबाटोका विनोद घिमिरे, गोङ्गबुका रामकृष्ण कार्की, चाबहिलका जलेश पाण्डे, मुलपानीका दिनेश भट्टराई, नयाँबजारका प्रदीप कँडेल, ललितपुरका माधव विष्ट र म्हैपीका शालिग्राम वाग्ले रहेका छन् ।

त्यस्तै, मनमैजुका जयराम पाण्डे, वनस्थलीका शिव भट्ट, नयाँबजारका सन्दिप पौडेल, म्हैपी क्षेत्रका सुनिल श्रेष्ठ, कोटेश्वरका प्रेम श्रेष्ठ र मैतीदेवीका महेश दाहाल पनि पक्राउ परेका छन् ।

जुवा खेलाइएको घरका धनी श्याम शर्मा, तारकेश्वरका अरुण बस्नेत, कीर्तिपुरका सुमन रिजाल, क्षेत्रपाटीका प्रदीप गौतम, मनमैजुका आनन्दराज त्रिपाठी र चाबहिलका अनिल सिलवाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार म्हैपीस्थित श्याम शर्माको घरको ग्राउन्डमा हारजित हुने गरी कौडा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो । छापा मार्ने क्रममा प्रहरीले नेपाली रुपैयाँ ९ लाख ६० हजार, अमेरिकी डलर ४६० र १६ थान कौडा बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर