३ केजी कोकिनसहित ठमेलबाट ८७ वर्षीय दक्षिण कोरियाली वृद्ध र एक भारतीय नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ  । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर लागु औषध कारोबार गर्ने शंकास्पद विदेशी नागरिकमाथि क्रिमिनल प्रोफाइलिङ गर्ने क्रममा प्रहरीले ३ किलोग्राम कोकेनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले (मंसिर ११ ) गत शुक्रबार काठमाडौँ महानगरपालिका-१७ ठमेलस्थित जी।पी। रोडको एक होटल कोठाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन लीले साथमा ल्याएको ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाई लुकाइराखेको ३ केजी कोकेनसहित पक्राउ गरिएको हो ।

सोही कोकेन लिन आएका २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम वाघमारेलाई कोकेन बुझेर लैजान लागेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ।

अनुसन्धानबाट कोरियाली नागरिकले कोकेन पेरुबाट काठमाडौँ ल्याउने र भारतीय नागरिकले काठमाडौँबाट मुम्बई पुर्‍याउने अनुसन्धानबाट खुलेको छ ।

साथै पक्राउ परेका कोरियाली नागरिक पेरुबाट म्याड्रिड (स्पेन) र दोहा (कतार) हुँदै २६ नोभेम्बर २०२६ मा नेपाल आइपुगेको पनि देखिएको छ । यसअघि उनी १९ जुलाई २०२६ मा पनि नेपाल आएर ३ दिन ठमेलको होटलमा बसी कोरिया फर्किएको रेकर्डमा देखिएको छ ।

पक्राउ परेका भारतीय नागरिक दीपक उत्तम वाघमारेको साथबाट स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई प्रहरीको आई.डी. कार्ड समेत फेला परेको  जनाएको छ । साथै, कोकेन लुकाइएको सुटकेश दिने-लिने क्रममा उनीहरुले पासवर्ड प्रयोग गरेको पाइएको छ ।

बरामद ३ केजी कोकेनको अवैध बजार मूल्य प्रति ग्राम ५० हजार रुपैयाँका दरले अन्दाजी १५ करोड रुपैयाँ रहेको छ । प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ३ किलोग्राम कोकेन, १ थान पासपोर्ट, १ थान आधारकार्ड र २ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका दुवै नागरिकमाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

×