निर्मला हत्या प्रकरणः आजदेखि परिवार अनिश्चितकालीन धर्नामा

दियो पोस्ट  

कञ्चनपुर, कात्तिक २५ । कञ्चनपुरकी १३ वर्षीय बालकिा निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिन भन्दै पन्तको परिवारले आज आइतबारदेखि अनिश्चितकालिन धर्नामा बस्ने भएका छन् ।

निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रम अनुुसार हत्यारा पत्ता लगाउने विषयमा सरकारले कुनै चासो नदेखाएपछि उनीहरु आजदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् ।

हत्या भएको १ सय दिन कटिसक्दा पनि हत्यामा संलग्न व्यक्तिललाई समात्न नसकेको र अन्तिम अवस्थामा आफूहरु धर्नामा बस्न बाध्य भएको निर्मलाको पीडीत परिवारले जनाएको छ ।

आज आइतबार बिहान ११ बजेदेखि जिला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तको परिवारले जनाएको छ । महेन्द्रनगरको मदनचोकमा भेला भई र्यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम छ ।

उच्चस्तरीय छानबिन समितिले छानबिन गर्न भनेका व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा नल्याएकाले अझै पनि प्रहरीको अनुसन्धान सही गतिमा जान नसकेको महिला अधिकारकर्मीहरुको तर्क छ ।

निर्मला घटनाको अनुसन्धानमा गल्ती गरेको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त भएका छन् । अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही गरेर मात्रै नहुने अधिकारकर्मीहरू बताउँछन् ।

यसअघि नागरिक संघर्ष समितिले दसैं र तिहारका बीचमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको थियो । साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका–२ र १८ सीमामा रहेको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन ।

उनको शव भेटिएकै दिनदेखि निर्मलाका परिवार र स्थानीय महिलाहरूले अपराधी पत्ता लगाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । चरणबद्ध रूपमा आन्दोलन चलिरहे पनि वास्तविक अपराधी अझै पत्ता लाग्न सकेको छैन ।

 

र, यो पनि पढ्नुहोस्