काठमाडौँ, कात्तिक १५ । युट्युबमा सर्वाधिक लोकप्रिय कुुकिङ च्यानल ‘ग्रेण्डपा किचन’का ग्राण्ड पा भनेर चिनिने नारायण रेड्डीको निधन भएको छ ।
दक्षिणी तेलांगना राज्यस्थित हैदराबादका बासिन्दा रहेका रेड्डीको अक्टोबर २७ का दिन निधन भएतापनि उनका परिवारले भने शुक्रबार मात्र निधनको खबर सार्वजनिक गरेका हुन् । लामो समयदेखि फोक्सोमा समस्या रहेका रेड्डिीलाई निधन हुनुभन्दा अगाडी अस्पताल पुर्याइएको थियो । रेड्डि अस्पतालमा रहेको समयको समेत भिडियो सार्वजनिक भएको थियो ।
छोटो समयमै युट्युबमार्फत निकै लोकप्रिय बनेका रेड्डीको ७३ बर्षको उमेरमा निधन भएको उनको परिवारलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सन् २०१७ को अगस्ट महिनामा संचालन भएको युट्युब च्यानल ‘ग्राण्ड पा किचेन’ मा दुई बर्षको अवधीमै साढे साठी लाख सदस्यहरु आवद्ध भएका छन् । शुक्रबारसम्मको रेकर्ड हेर्ने हो भने उक्त च्यानललाई ६० लाख १७ हजार मानिसहरुले सब्सक्राइब गरेका छन् ।
उनको निधन भएपनि ग्राण्ड पा किचनलाई निरन्तरता दिने रेड्डीका भतिजा श्रीकान्त रेड्डीले बताएका छन् । उनका अनुसार कुकिङको बिचार पनि ग्राण्ड पा ले नै ल्याएका हुन् । सुन्दर र हरियाली खेतहरुमको बिचमा ठुलो परिमाणमा विभिन्न परिकारहरु बनाउने र सो परिकारहरु अनाथ तथा सडक बालबालिकाहरुलाई खुवाउने गर्दथे । रेड्डीले युट्युबमार्फत ती परिकारहरु बनाउन समेत सिकाउने गर्दथे ।
ग्राण्ड पा किचनमा सहयोगीका रुपमा देखिने उनका भतिजा लगायत अन्य व्यक्तिहरु त्यसभन्दा अघि विभिन्न पेशामा आवद्ध थिए । श्रीकान्तका अनुसार बिस्तारै किचन लोकप्रिय हुँदै गएपछि सबैजनाले जागिर छोडेर फुल टाइम नै ग्राण्ड पा किचनमा खटिए र मेहनत गर्न थाले ।
रेड्डीको निधन पश्चात गरिएको शवयात्राको भिडियो युट्युबमा समेत राखिएको छ । उनको निधनको भिडियो सार्वजनिक भएपछि हजारौँ समर्थकहरुले उनलाई श्रद्धाञ्जली दिएका छन् ।
के के परिकारहरु बनाउँथे ?
नारायण रेड्डीले भेज र नन भेज दुबै परिकारहरु निकै स्वादिष्ठ ढंगले तयार गर्थे । युट्युबको ग्राण्ड पा किचन नामक च्यानलमा २ सय ३७ वटा कुकिङको भिडियो रहेका छन् । उक्त भिडियोहरुमा फरक फरक परिकारहरु तयार पारिएको छ । रेड्डीले परम्परागत परिकारदेखि आधुनिकसम्म सम्पुर्ण परिकारहरु तयार गरेका छन् ।
चिकेन विर्यानी, बेम्बो चिकेन विर्यानी, मटन विर्यानी, चिकेन ललिपप, चिकेन स्टिक, पिज्जा, कोरियन एग रोल्स, चिकेन अमलेट, फिस करी, चिकेन म्यागी नुडल्स, पोटेटो फिंगर, रोस्ट, केके लगायत विभिन्न मासुजन्य परिकार, तरकारीजन्य परिकार, फलफुलजन्य परिकार तथा मिठाइका परिकारहरु ठुलो परिमाणमा तयार गर्दथे ।
लाखौँ समर्थकहरुको भीड
रेड्डीको पहिलो भिडियो सन् २०१७ को अगस्ट महिनामा युट्युबमा प्रसारण भएको थियो । ‘किंग अफ २००० एग्स्’ नाम गरिएको उक्त कुकिङ भिडियो हालसम्म २६ लाख भन्दा धेरै पटक हेरिएको छ । उक्त भिडियोमा उनले दुई हजार वटा अण्डाको परिकार बनाएर स्थानीय अनाथ तथा घरबारविहीन मानिसहरुलाई खुवाएका छन् ।
उनको भिडियोहरुमा निकै नै सकारात्मक प्रतिक्रियाहरु आउने गर्छ । उक्त भिडियो हेरेपछि मानवता अझै सम्म पनि रहेछ भन्ने प्रतिक्रियाहरु समेत आएका छन् । ‘हामी विभिन्न परिकारहरु तयार पारिएको भिडियोहरु युट्युबमा राखेर दर्शकहरुलाई मनोरञ्जन दिन्छौँ भने ती तयार भएका परिकारहरु अनाथ मानिसहरुलाई दिएर उनिहरुको सहयोग पनि गरिरहेका छौँ’ ग्राण्ड पा किचनका एक सदस्यले भने, हामीहरुको उद्धेश्य नै अनाथ बालबालिकाहरुको आधारभुत आवश्यकताहरु गाँस बास र कपासको व्यवस्था गर्न सकौँ भन्ने हो, त्यसभन्दा बढी शिक्षाको व्यवस्था र कमसेकम उनिहरुको जन्मदिनको दिनमा केही उपहारहरु दिन सकौँ भन्ने हो ।’