‘भिआइपी जुवाकाण्ड’ : झोलामा १ करोड लिएर २ तला माथिबाट हाम फाल्ने जुवाडे फरार !

दियो पोस्ट  

काठमाडौं, १५ कार्तिक । गत शनिबार राती राजधानीको महाराजगन्ज स्थित विक्रम गौतमको घरमा जुवा खेल्दै गर्दा २ करोड ६७ लाख रुपैयाँ सहित २५ जना भिआइपी जुवाडे पक्राउ परे । पक्राउ पछि जुवाकाण्डको विभिन्न पर्दा खुल्न थालेको छ ।


उक्त जुवाकाण्डमा ठूला भनिएका भिआइपीदेखि क्यासिनो किङ भनेर चिनने गुण्डा नाइके बलराम सापकोटा बलेसम्म पुगेका थिए । तर, प्रहरीले भिभिआइपी जुवाडेलाई जोगाएर केही व्यक्तिलाई मात्रै पक्राउ गरेको आरोप लागेको छ । प्रहरीकै सुचनाका आधारमा केही भिआइपी भागेको पाइएको हो ।


स्रोतका अनुसार पूर्व गृहराज्यमन्त्री तथा प्रदेश ३ नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ ७६ लाख रुपैयाँ जितेर भागेका थिए । गृह राज्य मन्त्री बानियाँको सुरक्षामा रहेको नेपाल प्रहरीको कर्मचारीबाटै चुहिएको सुचनाको आधारमा उनी भाग्न सफल भएको बताइन्छ । बानियाँले आफ्ना निकटस्थहरुलाई ‘भगवानले भगायो’ भन्दै हिँडेका छन् । नेपाल प्रहरीका एक पूर्व एआइजी समेत उक्त खेलमा सहभागी भएको पाइएको छ । प्रहरीले भने यस विषयमा औपचारिक केही बोलेको छैन ।


त्यस्तै एक बरिष्ठ अधिवक्ता भने जुवा हारेपछि पैसा लिन जाँदा प्रहरीबाट पक्राउ पर्नबाट जोगिएको स्रोतले जानकारी दियो । तर, यस विषयमा उनलाई सम्पर्क गर्दा उनले ठाडै अस्विकार गरे । करोडौं भ्याट छलिको आरोप समेत कारबाही परेका ती अधिवक्तालाई यस विषयमा प्रश्न गर्दा उनले ‘प्रश्न सोध्ने हिम्मत कहाँबाट राखिस्’ भन्दै गाली गलौज गरे ।


यता पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमल्सिना पनि जुवाखालमा पुगेको आरोप छ ।


जुवा खालमा लगानी गर्ने र ठूलो नाफा कमाउने धन्दा नै रहेको पाइएको छ । उक्त जुवाघरमा मिटरब्याजमा रकम लगानी गर्न पुगेका कामनपा १६ नयाँ बजारका निरञ्जन पौडेल ५०/५० लाखको दुई झोला दुई हातले समातेर दुई तलाबाट हाम फालेको स्रोतको दाबी छ ।

बलराम सापकोटा ‘बले’, बैंकर एवं बालुवाटार जग्गा घोटालामा समेत मुछिएका श्रवण गोयल, पवित्र कुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामालाई छाड्न हालिएको बन्दी प्रत्यक्षीकरण रिटले समेत उनीहरु छुट्न सकेनन् ।


जुवा मुद्दा अधिकांश सिडिओ कार्यालयमै छिनोफानो हुने प्रचलन भएता पनि ठूला व्यापारिक घराना पक्राउ परेकाले उनीहरुले सर्वोच्च अदालत गुहारेका थिए ।


दुई करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका जुवाडेले दायर गरेको मुद्दा शुक्रबार फिर्ता लिइसकेका छन् ।

प्रहरीले शनिबार राती २ करोड ६७ लाख रुपैयाँ सहित बैंक अफ काठमाडौंको तीन लाख रुपैयाँको चेक, ३२ थान कौडा र चार बुक तास बरामद गरेको थियो ।


को कस्ता जुवाडे ?


काठमाडौं महानगरपालिका २ भाङ्गीका बुद्ध लामा बुद्धचित्तका व्यापारी हुन । उनी जुवा खेल्ने, खेलाउने र खेल्ने व्यक्तिहरु जुटाउने व्यक्ति हुन् । त्यस्तै मुक्ति लामा पनि आफैँ जुवा खेल्ने व्यक्ति हुन् । उनी यार्सागुम्बाका कारोबारी पनि हुन् । कामनपा १५ स्वयम्भूका लामा जुवा खेल्न मान्छे जुटाउने र ठाउँको व्यवस्था गर्ने पनि गर्दछन् । कामनपा ९ बस्ने पवन अग्रवाल भारतीय मूलका नेपाली हुन । उनी क्यासिनो खेल्ने पेसेवर खेलाडी र ठेकेदार हुन् । क्यासिनो खेल्दा भारतीय परिचयपत्र देखाउने अग्रवाल नेपाली नागरिक नै हुन् ।

त्यस्तै कामनपा ६ बौद्ध बस्ने सुमन अग्रवाल पनि भारतीय मूलका नेपाली नागरिक हुन् । पवन र सुमन दुवैले आफूलाई उद्यमी व्यापारी भने पनि दुवै जना क्यासिनोका नियमित खेलाडी भएको पाइएको छ ।

गोकर्णेश्वर नगरपालिका ६ का कृष्ण भण्डारी पछिल्लो समयका जुवाडे हुन् । जीवनको सुरुवातमा जर्मन नागरिकले बौद्धमा सञ्चालन गरेको गलैँचा उद्योगको लेखापाल भण्डारी आफ्नै मालिकलाई फसाएर नेपाल छाड्न बाध्य बनाई गलैँचा उद्योग हडपेर धनी भएका व्यक्ति हुन् । त्यसरी जर्मन नागरिकबाट लुटेको सम्पत्ति अमेरिका पु¥याएर लगानी गरिएको र त्यसको देखभाल उनका भाइ हरिवोल भण्डारीले गर्ने गरेका छन् । उनी नेपाल तरुण दलको पूर्वकेन्द्रीय सदस्य मात्र होइन, नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडका निकट सम्बन्ध रहेका गैरआवासीय नेपाली पनि हुन् ।

खालबाट पक्राउ परेका राम तामाङ काठमाडौं महानगरपालिका २९ का बासिन्दा हुन् । उनी आफैँ जुवा खेल्नेभन्दा पनि खेलाउने व्यक्तिका रुपमा परिचित छन् । कामनपा २६ का अशोक श्रेष्ठ क्यासिनोका पुराना र माहिर खेलाडी हुन् तर क्यासिनोबाटै टाट पल्टेका उनी निकै पछि यसरी देखिएका हुन । त्यस्तै, कामपा कोटेश्वरका श्यामप्रसाद पराजुली पनि पेसेवर जुवाडे नै भएको बुझिएको छ । बूढानीलकण्ठ ११ का सीताराम खड्का पनि जुवाको पारखी मानिन्छन् । त्यस्तै कामनपा १५ का रञ्जन राजवंशी जुवाडे मात्र नभई खेलाडी पनि हुन् ।

पक्राउ परेका अर्का व्यक्ति विक्रम गौतम जुवाको खाल चलाएर अकुत सम्पत्ति आर्जन गर्ने व्यक्ति हुन् । पनौतीका प्रदीप बोगटी प्रहरीसँग मिलेर गिट्टी र ढुंगाको अवैध खानी सञ्चालन गर्ने व्यक्ति हुन् । काभ्रे तिमाल ६ का नवाङ लामा र काभ्रे नमोबुद्ध ११ को रोशन तामाङ दुवै जुवाडेभन्दा पनि बुद्धचित्तका व्यापारी हुन् । काभ्रे नमोबुद्ध ९ को धावा लामा जे गर्न पनि पछि नहट्ने व्यक्ति हुन् । खालबाट पक्राउ परेका अर्का व्यक्ति दोलखा भीमेश्वर ५ का रामकृष्ण केसी पेसाले अण्डा व्यापारी हुन् । इन्द्र श्रेष्ठ उनकै पछि लागेर त्यहाँ पुगेको बताइन्छ । बाह्रबीसे ४ का शम्भु शेर्पा, ओखलढुंगा पाप्ले ३ का सुमन गुरुङ र ललितपुर गोदावरीका प्रेम थापा मगर पनि मिनि क्यासिनोमा देखिइरहने जुवाडे भएको बताइएको छ ।

पक्राउ परेको बारा निगजढ नगरपालिका ९ का शम्भु बुढाथोकी प्रहरीको ठेकेदार हुन् ।
आङछिरिङको सम्पत्तिमा बले र कार्कीको रजाईं !

रामेछाप बाम्ती भण्डारका पवित्र कुमार कार्की फेक रेस्क्युमा मुछिएका व्यापारी हुन् । उनीसँगै पक्राउ परेका बलराम सापकोटा बले कार्कीकै व्यापारिक साझेदार समेत हुन् । काभ्रेको रोशी गाउँपालिका ४ का सापकोटा गुण्डागर्दिमा समेत सक्रिय थिए ।


हेलिकोप्टर दुर्घटनामा निधन भएका यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाको समेत लगानी रहेको मोरङको धुलावारी स्थित ‘मेची क्राउन’ होटल यतिबेला विवादमा छ । शेर्पाको लगानी समेत हत्याउन कार्की र सापकोटा लागि परेको स्रोत बताउँछ । फुच्चे डन भनेर चिनिने सोवित सिलवाल पनि जुवा काण्डमा हिरासतमा छन् । रौतहट चपुरका सिलवाल सेनर फाइनान्सबाट ऋण लिएर जुवाको खालमा मिटरब्याजमा पैसा लगाउने व्यक्ति हुन् ।


महाराजगन्जका डिएसपी भन्छन्,‘हाइप्रोफाइल भन्ने थाहा भएन’


महानगरीय प्रहरी बृत महाराजगन्जका डिएसपी उमेश लम्सालले आफूहरुलाई हाइप्रोफाइल लो प्रोफाइलबारे थाहा नभएको प्रतिक्रिया दिए । उनका अनुसार ‘कोही भागेको विषय समेत हिरासतमा रहेकाहरुले बयान दिएका छैनन् ।