महराको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता नै पाँच जना, को को छन् बहसमा ?

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक १७ । निवर्तमान सभामुख कृष्णबहादुर महराबिरुद्ध लागेको जबरजस्तीकरणी प्रयासको मुद्धामा आइतबार थुनछेक बहस हुँदै छ । जिल्ला अदालत काठमाडौँमा हुने थुनछेक बहसमा महराको पक्षबाट बहस गर्न करिब २० जना अधिवक्ताहरुले रुची देखाएका छन् ।

जिल्ला अदालत काठमाडौँका अनुसार पाँच जना वरिष्ठ अधिवक्तासहितको टोलीले महराको पक्षबाट बहस गर्दै छन् । महराको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल रहेका छन् ।

नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गर्नेछन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका , जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गर्नेछन् ।

बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा शुक्रबार न्यायाधीशसँगको बयान सकिएको थियो । शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।

सम्बन्धित खबर

सिफारिस