सदरखोरमा ४ सय ५० कैदीहरुको बिचमा महरा, पुर्वआइजिपी र डिआइजी रुममेट

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १९ । संसद सचिवालयको कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि डिल्लीबजार जेल चलान गरेको हो ।

डिल्लीबजार सदरखोरमा महराको रुममेटको रुपमा पुर्व आइजिपी रमेशचन्द्र ठकुरी र शसस्त्र प्रहरीका पुर्व डिआइजी रञ्जन कोइराला रहेका छन् । पुर्वआइजिपी ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् ।

त्यस्तै सशस्त्र प्रहरीका पुर्वडिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो ।

डिल्लीबजार सदरखोरमा प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा लगायतका पुर्व भिआइपीहरु जेल जीवन बिताउँदै आइरहेका छन् ।

कारागारमा क्षमताभन्दा ५० प्रतिशत बढी कैदीबन्दी रहेका छन् । ‘क’ ब्लक र ‘ख’ ब्लक प्रत्येकमा करिब ४ सय ५० जना कैदीहरु रहेका छन् । महरा तीनै ४ सय ५० कैदीहरुको बिचमा रहनेछन् । पुर्वआइजिपी र पुर्वडिआइजी बस्दै आएको रुममा सुविधा बढी भएको कारणले पनि महरालाई सोही कोठामा राखिएको हो ।