प्याजको मुल्य बढेपछि वंगलादेशकी प्रधानमन्त्रीद्धारा प्याज नखाने घोषणा

प्याजको मुल्य बढेपछि वंगलादेशकी प्रधानमन्त्रीद्धारा प्याज नखाने घोषणा

एजेन्सी । दक्षिण एसियामा नै प्याजको मुल्य आकाशिन थालेपछि उपभोक्ताहरु मारमा परेका छन् । नेपाल, भारत, वंगलादेश, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरुमा प्याजको मुल्य आकाशिएको छ । प्याजको लागि अफ सिजन भएको कारणले पनि प्याजको मुल्य बढेको हो ।

वंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो भान्सामा प्याज नपाक्ने घोषणा गरिन् । वंगलादेशमा समेत प्याजको मुल्य आकाशिन थालेपछि प्रधानमन्त्री हशिनाले आफ्नो भान्सामा प्याज नपाक्ने घोषणा गरेकी हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार शनिबार प्रधानमन्त्री निवासमा पाकेका कुनैपनि परिकारमा प्याजको प्रयोग गरिएको थिएन ।

वंगलादेशमा अन्य समय ३० टाकामा पाइने प्याजको मूल्य अहिले २ सय ६० टाका प्रतिकिलो पुगेको छ । प्याजमा मात्रै करिब नौ सय प्रतिशतको मुल्यवृद्धी भएको छ । भारतले वंगलादेशमा प्याजको निर्यात गर्न रोक लगाएपछि झन् प्याजको मुल्य वृद्धी भएको हो ।

वंगलादेशले हाल म्यानमार, टर्की, चिन र इजिप्टबाट प्याज आयात गर्दछ । बंगलादेशमा हवाइजहाजबाट प्याजको आयात गरिएको कारणले पनि निकै महंगो हुने प्रधानमन्त्री सचिवालयका एक सचिवले अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई बताएका छन् ।

जनताको आवश्यकता पुरा गर्नका लागि सरकारले सुपथ मुल्य पसल पनि खोलिदिएको छ । सरकार आफैले संचालन गरेको सुपथ मुल्य पसलमा प्याजको मुल्य प्रतिकिलो ४५ टाकामा बेचिरहेको बताइएको छ । तर, त्यहाँ प्याज किन्नका लागि घण्टौँसम्म लाईन बस्नुपर्ने भएकाले पनि सबै उपभोक्ताहरुले सुुविधाको उपयोग गर्न पाएका छैनन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारका विकास समितिका अनुसार अहिले थोकमा सुकेको प्याजको मूल्य १६० रुपैयाँ तोकिएको छ । प्याजको खुद्रा मूल्य भने औसत १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

Trending News