शेयर बजारमा लगातारको गिरावट

शेयर बजारमा लगातारको गिरावट

काठमाडौँ, मंसिर २ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सोमबार पनि घटेको छ । यद्यपि, आज नेप्सेमा झिनो अंकको गिरावट भएको छ । आइतबार ४.५९ अंकले घटेको नेप्से सोमबार पुनः ०.२४ अंकले घटेर परिसूचक ११३१.१२ बिन्दुमा झरेको छ ।

कुल १६० वटा कम्पनीको ११ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक घटे पनि आज कारोबार रकम र शेयर संख्या भने अघिल्लो दिनभन्दा थोरै बढेको छ । आज कारोबारमा आएका समूहमध्ये जलविद्युत्, उत्पादन, अन्य र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह बढेका छन् ।

अघिल्ला दिनमा जस्तै सोमबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ । आज युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

Trending News