
बीबीसी, मंसिर ३ । भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर चारजना सिपाही र दुईजना भरियाको मृत्यु भएको छ ।
आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट (५८०० मिटर) को उचाइमा गस्ती गर्दै थिए। त्यही बेला उनीहरू हिमपहिरोमा परेका हुन्।
पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलाएका छ । उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल पुर्याइएको छ ।
सबैको अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन्। उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर विवाद छ।
वार्ताहरूपछि पनि पाकिस्तान र भारत सियाचिन ग्लेशियरमा सेनाको उपस्थिति हटाउन विफल भएका छन्। उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ।
सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको हो। त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको छ।घटनाको थप विवरण आउन बाँकी छ ।