फेवातालमा यसकारण छाडियो १० हजार माछाका भुरा

दियो पोस्ट  

कास्की, मंसिर ६ । विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ ।

परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी यहाँका तालतलैयाहरुमा भुरा छाड्दै आएको छ ।

केही वर्षअघि तालमा शहर, कत्ले, काँडे, फगेटा, बामलगायत स्थानीय जातका माछा पाइने गरेकामा अहिले लोप हुँदै गएको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए ।

तर पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, प्रदेश तथा स्थानीय सरकारबाट स्थानीय प्रजातिका माछा संरक्षणका लागि सहयोग भएकाले तिनीहरुको सङ्ख्या बढ्दै गएको उनले बताए ।
अध्यक्ष जलारीले तालमा साना भुरा छोड्दा बकुल्ला लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढिरहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोड्दा उपयुक्त हुने बताए ।

अनुसन्धान केन्द्रका प्रमुख एवं डा मोहम्मद इकवाल हुसेनले स्वदेशी माछा तथा तालतलैया र माछाको प्रजननस्थलको संरक्षणको कार्य केन्द्रले गर्दैै आएको चर्चा गर्दै विश्व मत्स्य दिवसका अवसरमा हरेक वर्ष १० देखि २० हजार भुरा छोड्ने गरिएको बताए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्लेले निर्देशनालयले स्थानीय माछाका प्रजाति संरक्षण तथा जलारी समुदायका जीवनोस्तर सुधारका लागि माछा पाल्ने केज हस्तान्तरण, भुरा छाड्ने लगायतका कार्यक्रमहरु गर्दै आइरहेको बताए ।