यी हुन् शैक्षिक प्रमाण पत्रदेखि राहदानी र प्रहरीको सिफारिससम्म नक्कली बनाउने गिरोह !

दियो पोस्ट  

काठमाडौँ, मंसिर १३ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार नक्कली कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई शुक्रबार सीआइबीको कार्यलयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

सिआइबीले उपत्यका भित्रका विभिन्न स्थानमा संचालन भएका फोटो स्टुडियोमा छापा मारेर खोजतलास गर्दा नक्कली कागजात बनाउने तीन वटा फोटो स्टुडियोमा शैक्षिक प्रमाण पत्र देखि राहदानी र सरकारी कागजपत्र समेत नक्कली बनाएर अवैध रुपमा विक्री गर्ने गरेको भेटिएको छ ।

काठमाडौँको गोगंबुमा संचालित श्रेष्ठ फोटो स्टुडियो, सिनामंगलको स्टार डिजिटल फोटो स्टुडियो र महाराजगंजको दुवाडी फोटो स्टुडियोमा नक्कली कागजपत्रहरु बनाइने गरेको भेटिएको हो । सिआइबिको टोलीले ती स्टुडियोबाट कक्षा ८ को जिल्ला स्तरिय परिक्षाको सर्टिफिकेट, एसइइ को नक्कली सर्टिफिकेट, नक्कली राहदानी, विभिन्न सरकारी कार्यलय हरुको लेटर प्याड र राजनीतिक दलको लेटरप्याडसमेत बरामद गरेको छ ।

SONY DSC

पक्राउ पर्नेहरुमा गोंगबुमा फोटो स्टुडियो संचालन गर्दै आइरहेका ओखलढुंगा रानीवन–७ का ३४ बर्षीय सविन कुमार तोलाङ्गी, सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो संचालन गर्दै आएका रत्ननगर–१६ चितवनका अमृत सुर्खेती र निलकण्ठ नगरपालिका–९ धादिङ घर भई महाराजगंजमा फोटो स्टुडियो संचालन गर्दै आएका २६ बर्षीय मधुसुदन दवाडी रहेका छन् ।

फोटो स्टुडियोका आवरणमा विभिन्न सरकारी कार्यलयको कीर्ते कागज बनाउने र विक्री गर्ने भेटिएको सिआइबीका प्रवक्ता वेल बहादुर पाण्डेले बताए । उनिहरुले प्रहरी रिपोर्ट देखि विभिन्न तहका मार्कसिट समेत तयार गर्ने गरेको पाण्डेले बताए ।

SONY DSC

बिहीबार ती स्टुडियोबाट प्रहरी प्रधान कार्यलयको लेटरप्याडमा तयार भएको पुलिस रिपोर्टहरु, प्लस टूको ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेशन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हात हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र, विभिन्न विद्यालयको जिल्ला स्तरीय परिक्षाको मार्कसिट तथा शैक्षिक प्रमाण पत्रहरु, नेपाल आर्मीले प्रदान गरेको सिफारिस पत्र, विभिन्न महानगरिय प्रहरी वृत्तहरुको लेटर प्याड तथा सिफारिस पत्रहरु, जिल्ला प्रशासन कार्यलयबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्रहरु, काठमाडौँ महानगरपालिकाको सहिछाप गरेको खाली लेटर प्याड, वडा कार्यलयहरुको सिफारिस पत्र, पार्टी कार्यलयको लेटर प्याडमा लेखिएको पत्रहरु, बैँक स्टेटमेन्ट, मेडिकल रिपोर्ट र स्थायी लेखा नम्बरको नक्कली प्रमाण पत्र बरामद गरेको छ ।

SONY DSC

अभियुक्त सार्वजनिक गर्दै सिआइवीका अधिकारीले नक्कली कागजपत्र बनाउनेलाई मात्र नभई बनाउन लगाउनेलाई पनि कारवाहीको दायरामा ल्याउने बताएका छन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखित सम्बन्धी कसुर अन्तर्गत दफा २७६ विपरित कसुर भएको हुँदा ऐ. २७६ (३ को ग) बमोजिम ७ बर्ष सम्म कैद र ७० हजार सम्म जरिवाना हुने कानुनमा उल्लेख छ ।