गोरखा, १७ कार्तिक । सडक निर्माणको क्रममा लापरबाही गरेको भन्दै गोरखाको एक सडकलाई स्थानियबासीले हातैले उप्काएका छन् ।
गोरखा नगरपालिका १०, बाह्रकिलो –छेपेटार सडक निर्माण कमसल भएको भन्दै सो क्षेत्रका स्थानीय सडक भत्काइदिएका हुन् । ‘धुलोमाथि अलकत्ता हालेर धमाधम पिच गरिरहेको रहेछ । एकै छिनमा ठाउँठाउँमा भत्किने थाल्यो,’ स्थानिय दिपक परियारले भने, ‘अनि हामी गएर यसो हातले कोट्याउँदा पनि मान्द्रो बेरिएजस्तो गरी पिच त सबै उप्कियो ।’
गोरखा एप्रोपिरियट प्रालीले मापदण्ड पुरा नगरी सडक निर्माण गरेको भन्दै सोमबार सो क्षेत्रका स्थानीयले आपत्ति जनाएका छन् । ठेकेदार र कार्यालयको लापरबाहीले गर्दा काम राम्रो नभएको उनीहरुको आरोप छ । ‘यो सबै पक्षको लार्पबाही र मिलेमतो हो,’ अर्का स्थानीय ईश्वर बस्नेतले भने, ‘यस्तो नी पिच हुन्छ ? यो तर सरासर ठग्ने काम भएको छ ।’ काममा कमजोरी भएको निर्माण कम्पनीले पनि स्वीकार गरेको छ ।’
यता गोरखा एप्रोपिरियटका इन्जिनियर अभिजित कोइराला पनि कमजोरी भएको स्वीकार गर्छन् । ‘केही कमजोरी पक्कै भएको हो । रोलिङ गर्दा नमिलेर यस्तो भएको हो । पुनः प्राइम हालेर यसलाई मिलाएर पिच गर्छौं ।’
गोरखा एप्रोपिरियट प्रालीले १ करोड ७७ लाख लागतमा एक किलोमिटर ५ सय मिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो । २०७७ बैशाख ३० गते भित्र कालोपत्र गरिसक्नु पर्ने भएपनि लकडाउनका कारण काम नभएपछि ६ महिनाको लागि म्याद थप भएको छ । कार्तिक ३० गतेसम्म काम सक्नुपर्ने भएपछि ठेकेदारले मापदण्ड विपरित रातरात काम गरेको खुलासा भएको छ ।
‘बेलामा काम गर्नु भएन अहिले समय घर्किएपछि आफूखुसी काम गर्दा यस्तो भएको हो,’ ११ किलो भालुस्वाँरा सडक आयोजनाका इन्जिनियर राजेश यादवले भने, ‘त्यो पिच सबै भत्काएर फेरी गर्न लगाउँछौं ।’ लकडाउन अघि नै काम सम्पन्न गर्ने गरी तयारी गरिएको उक्त सडकमा अहिले अहिले राम्रोसँग धुलो सफा नगरी प्राइम हालेकाले सेट नभएको विज्ञहरुले बताएका छन् ।