काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओली फेरी राष्ट्रपति निवास शितल निवास छिरेका छन् ।
हिजो मंगलबार राती राती १२ बजेसम्म राष्ट्रपति भण्डारीलाई भेटेर फर्किएका ओली आज फेरी सितल निवास पुगेको खबर छ ।
आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित बहुमत केन्द्रीय सचिवालय सदस्यले आज दिउँसो १ बजे नै बैठक बस्ने तयारी गरेका छन् । आज बैठक बस्नेत विषयमा यसअघिकै सचिवालय बैठकले तय गरेको थियो ।
नेकपा भित्रको आन्तरिक विवादलाई लिएर राष्ट्रपति भण्डारीको सक्रियता बढेको छ । तर, उनको सक्रियताको विषयलाई लिएर नेकपा भित्र तिब्र असन्तुष्टि पैदा भइरहेको छ ।
हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत भेटेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।
प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। तर बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा छन्। आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। दिउँसो १ बजे नै बस्ने भनिएको मन्त्रिपरिषद बैठक अहिले केहीबेर सारिएको जनाइएको छ ।