काठमाडौं, ११ मंसिर । वैदेशिक रोजगार ऐन विपरित कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिएको भन्दै केहीदिनअघि वैदेशिक रोजगार विभागले व्यापक मारेको थियो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो ।
विभागले तीनवटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको थियो । होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो । तर, केहीदिन छापा मारेर नाटक गरेको विभागको सेटिङमा एक म्यानपावर कम्पनिले भने कतार प्रहरीको लागि खुलमखुल्ला अन्तर्वार्ता लिइरहेको छ ।
राजधानीको लाजिम्पाटमा रहेको शिखर ईन्टरनेश्नल प्रा.ली नामक म्यानपावर कम्पनिले ढोका लगाएर विहिबारदेखि धमाधम अन्तर्वार्ता लिइरहेको पाइएको हो । ‘यहाँ धमाधम अन्तर्वार्ता भइरहेको छ । प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँ सम्म असुल गरिएको छ,’ विहिबार विहानै एक व्यक्तिले शिखर ईन्टरनेश्नलबाट फोन गरेर दियोपोस्टलाई भने ।
स्रोतका अनुसार शिखर ईन्टरनेश्नल प्रा.लीलाई बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालकै सेटिङमा अन्तर्वार्ता लिने व्यवस्था मिलाइएको थियो । यस विषयमा प्रतिक्रिया लिन दहालको मोबाइलमा सम्पर्क गर्दा उनले मोबाइल नै सम्पर्क नहुने बनाएर राखेको पाइएको छ ।
शिखर ईन्टरनेश्नलको कम्पनिको नम्बरमा फोन गर्दा फोन उठेन ।
स्रोतका अनुसार बुधबार रातीदेखि नै अन्तर्वार्ता लिएको पाइएको छ । अहिलेसम्म ४ सय जनाको अन्तर्वार्ता लिइको स्रोतले जनाएको छ ।
कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले अपारदर्शी ढंगबाट छनोट गरिएका म्यानपावर कम्पनीमार्फत जम्मा पारिएका युवासँग अन्तर्वार्ता लिइएको हो ।
यस विषयमा प्रतिक्रिया लिन वैदेशिक रोजगार विभागका सुचना अधिकारी टिकामणी न्यौपानेलाई पटक पटक सम्पर्क गर्दा पनि उनले पनि फोन उठाएनन् ।