‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’

दियो पोस्ट  

हेटौँडा, १५ कार्तिक । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । आइतबार मकवानपुरको हेटौँडामा माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गरे । त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गरे ।

‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उनले भने, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन् । त्यसैले निरन्तर आक्रमण गरिरहेका छन् ।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माले जोड दिए । साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उहाँले त्यसलाई आक्रमणको निरन्तरता भएको बताए ।
‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उनले भने, ‘त्यस किसिमको प्रतितिगमनकारी तत्वलाई सामना र परास्त गर्न माओवादी सक्षम छ ।’

मन्त्री शर्माले इतिहास र वर्तमानलाई बुझ्ने तथा भविष्यलाई मूर्त आँकलन गरेर मात्र परिवर्तन सम्भव हुने पनि बताए । यी विषयलाई आत्मसात गरे माओवादीलाई बुझ्न सकिने उनको भनाइ रहेको छ ।

वाईसीएलको हेटौँडा उपमहानगर कमिटीको सो पहिलो सम्मेलनमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।