काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन्। ‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन्। मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन्। मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए। मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो।