काठमाडौं । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको कार्यालयमा खसी काटेर विश्वकप पार्टी गरेको खुलेको छ । आइतबार साँझ भएको विश्वकप २०२२ को फाइनल खेलमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीको नेतृत्वमा पालिकाको कार्यालयभित्रै खसी काटेर विश्वकप पार्टी गरेको खुलेको हो ।
कानुन कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदी नै सरकारी कार्यालय र सरकारी साधनको दुरुपयोग गर्दै कार्यालयका अन्य कर्मचारीहरूलाई समेत सहभागी गराएर विश्वकप हेरेका थिए । सुवेदीले गाउँपालिकाको कार्यालयमा प्रयोग हुने प्रोजेक्टरको दुरुपयोग गर्दै कार्यालयको भवन भित्रै विश्वकप पार्टी गरेका हुन् । साथै प्रमुख प्रशासकीय अधिकृत सुवेदी कै नेतृत्वमा कार्यालय परिसर भित्रै खसी काटेर स्थानीय जनतामाझ चर्को स्वरमा हल्लाखल्ला समेत गरेको स्थानीय स्रोतको दाबी छ ।
गाउँपालिकाको कार्यालय भवन भित्र यस्ता अनधिकृत कार्य गर्न नहुने पालिकाका अध्यक्ष ठुलाकान्छा तामाङले बताए । ‘म काठमाडौंमा छु । मलाई त्यसबारे केही जानकारी छैन ।’ दियोपोस्टसँगको संवादमा उनले भने, ‘यो गर्नु गलत हो, म तुरुन्तै पालिका फर्किएर यो विषयमा छलफल गर्ने छु ।’
पालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने आफू विश्वकप हेर्न नगएर किताब पढिरेको बताएका थिए तर पालिकाको सरकारी साधन दुरुपयोग गरेर विश्वकप हेर्ने पहिलो सिटमा उनी नै बसेका थिए । ‘कार्यालयको हलमा केही कार्यक्रम नभएपछि साथीहरूले रमाइलो गर्न खोजेका होलान्,’ दियोपोस्टकर्मीसँग उनले भने,‘म पुस्तक पढी रहेको छु ।’