काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन् ।
कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए । यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो ।
यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो ।
मार्काका अनुसार साउदी अरेबियाको क्लबसँगको समग्र वार्षिक सम्झौताको आकार प्रति सिजन करिब २० करोड युरोको हाराहारीमा रहनेछ। पीएसजीका स्टारहरु लियोनेल मेस्सी र नेयमारको आम्दानी भने प्रति सिजन ७ करोड ५० लाख र ७ करोड युरो रहेको छ ।
पछिल्लो समय रोनाल्डोको प्रदर्शन भने ओरालो लाग्दो क्रममा छ । पछिल्लो समय पोर्चुगलकै टोलीमा पनि उनको आलोचना हुँदै आएको छ ।