काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाल सुरू गरेको सुरूवाती दिनमा सामान्य उद्घाटन, शिलान्यास र सभा समारोहमा सहभागी नहुने बताएका थिए । आफूमात्रै होइन आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि उद्घाटन र शिलान्यासजस्ता कार्यक्रममा सहभागी नहुन भनेका थिए ।
तर, आफ्नै अडान र प्रतिबद्धताविपरीत प्रधानमन्त्री प्रचण्ड आफ्नो कार्यकालको एक वर्ष अवधिमा त्यस्ता आयोजना शिलान्यास र उद्घाटन गर्न मुलुकका विभिन्न स्थानमा पुग्ने गरेका छन् ।
शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री प्रचण्डको उपस्थिति बाक्लिन थालेपछि उनी नेतृत्वको नेकपा माओवादी केन्द्रका नेतालगायत गठबन्धनका नेताहरूले उनको आलोचना गरेका विषय सतहमा आएका थिए ।
देशमा भएका विकास निर्माणका कामहरू प्रधानमन्त्रीले उद्घाटन र शिलान्यास गर्न हुँदैन भन्ने होइन । तर, राष्ट्रिय समस्या एकातर्फ राखेर देशको कार्यकारी प्रमुख सामान्य आयोजना उद्घाटन गर्न जानु कत्तिको जायज हो भन्ने प्रश्न मुख्य हो ।
प्रधानमन्त्रीले आफैं आफ्नो प्रतिबद्धता र अडानमा कायम नरहेपछि उनले दिएको निर्देशन र गरेको आग्रह मन्त्रिपरिषद्का अन्य सदस्यहरूले के मान्थे? यसलाई पुस ९ गतेको एउटा दृश्यले प्रमाणित गर्छ ।
पुस ९ गते काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एउटा भव्य कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई यसकारण पनि भव्य भनियो कि त्यहाँ राजनीतिज्ञदेखि व्यवसायी र पत्रकारहरूसम्को उपस्थिति थियो ।
प्रमुख अतिथि थिइन् नेपाल सरकारकी संस्कृति तथा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी । बहालवाला मन्त्रीदेखि सांसद, नेता र व्यवसायीहरू एउटा ब्युटिपार्लरको वार्षिकोत्सव समारोहको उद्घाटन गर्न उपस्थित भएका थिए ।
ब्युटिपार्लरको वार्षिकोत्सव उद्घाटनमा व्यवसायी र पत्रकारहरूको उपस्थितिलाई सहजताका साथ लिन सकिन्छ । तर बहालवाला मन्त्रीनै उपस्थित हुने विषय भने केही अपाच्य देखिन्छ । अर्कातिर मन्त्रीहरू ब्युटिपार्लरको उद्घाटन गर्दै हिँडेपछि मन्त्रीले गर्ने काम कसले गर्ने ? भन्ने प्रश्न आउछ ।
फेरि, राज्यमन्त्री शिर्पाली जुन पृष्ठभूमिबाट राजनीतिमा आएर मन्त्री बनिन् त्यसको विचार, दर्शन र स्कुलिङले पनि सुन्दरतालाई कसरी हेर्छ र सौन्दर्यलाई कसरी परभाषित गरेको छ भन्ने अर्को ठूलो प्रश्न उनका अगाडि उभिएको छ ।
राज्यमन्त्री शिर्पालीले उद्घाटन गरेको ब्युटिपार्लर नेपालको चर्चित ब्युटिसियन सुष्मा महराको हो । उनको निम्तोमा राज्यमन्त्रीसहित राप्रपाका सांसद ज्ञानेन्द्र शाही, पूर्वसांसद नवीना लामा लगायतको उपस्थिति थियो ।
मन्त्री नै एउटा ब्युटीपार्लरको उद्घाटनमा उपस्थित हुनपर्ने अवस्था कसरी आयो? हामीले यो प्रश्न राज्यमन्त्री शिर्पालीलाई सोध्नका लागि पटक पटक फोन सम्पर्क गरेपनि उनी सम्पर्कमा आइनन्।