पत्रकार महासङ्घ निर्वाचन : जन्मियो क्रियाशील पत्रकारहरूको नयाँ मोर्चा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल पत्रकार महासङ्घका आसन्न निर्वाचनका लागि पत्रकारका सङ्गठनहरूबिच साझेदारीको पहल भइरहेको बेला नयाँ मोर्चा प्रकट भएको छ । पत्रकारिता सम्बद्ध सातवटा सङ्घसंस्थाको भेलाले बिहीबार महासङ्घको यही २०८१ मङ्सिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील पत्रकारहरूको साझा मोर्चा बनाई मोर्चाको धारणा समेत सार्वजनिक गरिएको हो ।

भेलापछि श्रमजीवी–पत्रकार सङ्घ, नेपाल, प्रेस नेपाल, मिडिया नेपाल, लोकतान्त्रिक पत्रकार मञ्च, कायस्थ पत्रकार समाज, प्रगतिशील पत्रकार मञ्च र सञ्चार क्षेत्र सुधार अभियान्ताले जारी गरेको संयुक्त वक्तव्यमा महासङ्घको निर्वाचनमा सहभागी हुने तीन वटै तहका पदमा मोर्चा सम्बद्ध घटक सङ्गठनहरूले उम्मेदवारी दिने निर्णय गरिएको उल्लेख छ ।

यद्यपि सहमतिको आधारमा नेतृत्व चयन गर्नका लागि मोर्चाले संयोजक योगेन्द्रप्रताप शाहीको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । ‘सबै सरोकारवालाहरूसँग संवाद र सहकार्य गर्ने प्रक्रियामा मोर्चाले सक्रिय भूमिका निर्वाह गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।