मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा, नयाँ सरकार गठन गर्न बाटो खुला

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । सवोच्च अदालतको आदेश अनुरुप विश्वासको मत नपाउने परिस्थिति देखिएपछि उनले राजीनामा दिएका हुन्।

बुधबार विश्वासको मत प्राप्त गर्न बोलाइएको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पद छाडेको घोषणा गरेका थिए ।

सर्वोच्च अदालतले सोमबार साँझ उनलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बिहानै बैठक बोलाइएको थियो। तर सत्तापक्षकै सांसद अनुपस्थित भएपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको थियो।

यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए। तर उनको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रदेशका सात दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए।

उनको राजीनामासंगै मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ। अब संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको बहुमतमा नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढ्नेछ।

सिफारिस