नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक अधिकारीलाई थुनामा पठाउने विशेष अदालतको आदेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने निर्णय गरेको हो।

नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा थुनछेक बहसपछिको आदेशसँगै अधिकारीलाई कारागार पठाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो। यससँगै, पोखरा विमानस्थल निर्माणसम्बन्धी अर्को भ्रष्टाचार मुद्दा पनि आइतबार उनीविरुद्ध दायर गरिएको छ।

यही प्रकरणमा पक्राउ परेका प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

सिफारिस