नेपालमै पहिलो पटक ‘ग्रिन नुडल्स’ उत्पादन गर्दै यशोदा फुड्स, ८६५ ‘केडब्ल्यूपी’ सोलार परियोजना सञ्चालनमा

दियोपोस्ट संवाददाता  

कपिलवस्तु । ‘करेन्ट नुडल्स’ का निर्माता तथा नुडल्स–स्न्याक्स क्षेत्रमा अग्रणी यशोदा फुड्सले दिगोपनातर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले कपिलवस्तुको चन्द्रौटास्थित कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सौर्य ऊर्जा प्रणाली सफलतापूर्वक जडान गरी उत्पादन सुरू गरेको हो।

यससँगै यशोदा फुड्स नेपालमा पहिलो पटक सौर्य ऊर्जामार्फत नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ। कम्पनीले ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिङ फ्यासिलिटी’को पहिचान समेत बनाउन सफल भएको छ। कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य ऊर्जाको प्रयोग गर्ने पहिलो उद्योग बनेको कम्पनीले जनाएको छ।

सौर्य प्लान्टबाट औद्योगिक विद्युत आवश्यकताको करिब ८० प्रतिशत माग पूरा हुने, विद्युत खर्च ६५ प्रतिशत घट्ने र कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

यो परियोजना स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो। परियोजनाका लागि एनएमबी बैंकले वित्तीय सुविधा उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट ‘डीकेटीआई’ अन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ब्याज अनुदानसहित सहयोग पुर्‍याएको थियो।

उद्घाटन समारोहमा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी साहले ८५६ केडब्ल्यू क्षमताको प्लान्टबाट वार्षिक १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुने र करिब २ हजार टन सिओटु उत्सर्जन बचत हुने बताए। उनले यसले उत्पादन लागत घटाई कम्पनीलाई अझ प्रतिस्पर्धी बनाउने तथा ग्राहक-स्टेकहोल्डरहरूलाई थप मूल्य प्रदान गर्ने विश्वास व्यक्त गरे।
एइपिसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाले नेपालका उद्योगहरूलाई स्वच्छ ऊर्जातर्फ प्रेरित गर्ने उल्लेख गर्दै जर्मन सहयोगले दीर्घकालीन प्रभाव पार्ने धारणा राखे।

प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले आधुनिक बाइफेसियल सोलार प्यानल र एआई–सक्षम स्मार्ट इनभर्टर प्रविधि उपयोग गरी तीन महिनाभित्र परियोजना पूरा गरिएको जानकारी दिए।

विश्वभर हरित ऊर्जातर्फ संक्रमण तीव्र बन्दै जाँदा नेपालका उद्योगहरूले पनि रूफ–टप सौर्य समाधानलाई कम लागतको ऊर्जा तथा डिकार्बोनाइजेशनको प्रभावकारी उपायका रूपमा अंगिकार गरिरहेको एइपिसीले जनाएको छ। हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगमा यस्ता प्रणाली जडान भइसकेका छन्।

हाइड्रोपावरमा धनी नेपालमा सौर्य ऊर्जा भण्डारण सहितको संयोजनले सुख्खा मौसममा वैकल्पिक स्रोतको रूपमा उपयोगी बनेको छ। नेपाल विद्युत प्राधिकरणले औद्योगिक रूफ-टप परियोजनामा नेट-मिटरिङ सुविधा उपलब्ध गराउने भएकाले अतिरिक्त उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाउन समेत सकिनेछ।

उद्घाटन कार्यक्रममा एइपिसीका सन्तोष राई, परियोजना प्रबन्धक निरज सापकोटा, सोलार रूफटप समन्वयक, तारा प्रसाद पोखरेल तथा यशोदा फुड्सका कर्मचारीहरूको उपस्थिति थियो।