काठमाडौँ । लायन्स क्लब अफ बुटवल युथले रुपन्देहीको गैडहवा गाउँपालिका-८ मा एकदिवसीय बृहद स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा आँखा, दाँत, महिलाको पाठेघर (प्री–क्यान्सर) जाँच, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो।
शिविरमा करिब २७० जनाको आँखा जाँच गरी आवश्यक औषधि तथा चस्मा वितरण गरिएको बुटवल लाइन आँखा अस्पतालका लाइन मनोहर न्यौपानेले जानकारी दिए। मोतियाबिन्दु देखिएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि बुटवल पठाइएको उनले बताए।
दन्त सेवातर्फ ६० जना बिरामीको दाँत निकालिएको र १५० जनाभन्दा बढीको दाँतको समस्या परीक्षण गरी औषधि वितरण गरिएको आस्था डेन्टल केयरकी डा. सीमा थारुले जानकारी दिइन्।
त्यसैगरी नेपाल परिवार नियोजन संघका डा. विष्णुकुमारी गुरुङका अनुसार ११५ महिलाको ‘प्री–क्यान्सर’ सम्बन्धी पाठेघर जाँच गरिएको थियो। शिविरमा करिब १४५ जनाको सुगर टेस्ट पनि सम्पन्न गरिएको आयोजकले बताए।
गैडहवा गाउँपालिकाको समन्वयमा सञ्चालित उक्त शिविरमा आस्था डेन्टल केयर प्रालि र फेक्ट नेपाल काठमाडौँले दन्त सेवा, बुटवल लाइन आँखा अस्पतालले आँखा सेवा र नेपाल परिवार नियोजन संघले पाठेघर जाँच तथा परामर्श प्रदान गरेको लायन्स क्लव अफ रुपन्देहीका प्रतिनिधि प्रदिप बिश्वकर्माले जानकारी दिए ।
गैडहवा गाउँपालिका-८ का वडा अध्यक्ष भुवन बहादुर रानामगरले यस्ता जनहितकारी कार्यक्रम सञ्चालन गरेकोमा क्लबप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम लायन्स क्लब अफ बुटवल युथका अध्यक्ष लाइन सूर्य पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।
