काठमाडौं । आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई लक्षित गर्दै देशभरबाट सङ्कलित मतदाताको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगले मंसिर २६ सम्म त्रुटि सच्याउन र दाबी-विरोधका लागि समय दिएको छ । ‘मतदाता नामावली अद्यावधिक (दाबी-विरोध) कार्यक्रम अन्तर्गत संकलित विवरण आयोगको वेबसाइटमा सार्वजनिक भएपछि मंसिर २६ सम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सक्नेछन् ।
त्यसैगरी कसैले झुट्टा विवरण दिई नाम समावेश गरेमा त्यसको विरोधमा उजुरी दिन, एउटै मतदाताको नाम विभिन्न स्थानमा दोहोरिएको भए एक स्थानमा कायम गराउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन सकिने उल्लेख छ ।
उक्त अवधि भित्र प्राप्त निवेदन तथा सूचनाको अध्ययन-अनुसन्धान गरी प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित गरिने आयोगले जनाएको छ।
मतदाताको सहजता र पहुँचलाई ध्यानमा राखेर आयोगले तोकिएका मापदण्ड अनुसार जिल्लागत सिफारिसका आधारमा केही मतदान स्थलहरूको पुनरावलोकन पनि गरेको छ।
मतदाताले आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई सबैभन्दा पायक पर्ने मतदान स्थल अनलाइन वा प्रदेशरजिल्ला निर्वाचन कार्यालयमार्फत छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ।
मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध बनाउन दाबी-विरोध कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै आयोगले सबै मतदाता तथा सरोकारवालालाई मंसिर २६ सम्म अनलाइन प्रणालीमार्फत आवश्यक निवेदन, उजुरी र सूचना दिन सक्रिय सहभागिताको लागि निर्वाचन आयोगले अपिल समेत गरेको छ।
