काठमाडौँ । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएका छन् । भन्सार ऐनमा रहेका अन्यायपूर्ण र अव्यवहारिक प्रावधान संशोधनको माग राख्दै एजेन्टहरूले जाँचपास प्रक्रियामा अवरोध गरेका हुन्।
महासङ्घका अनुसार हालको ऐनमा समावेश गरिएका अव्यावहारिक व्यवस्था, भन्सार सर्भरमा देखिँदै आएको निरन्तर समस्या, तथा जरिवाना सम्बन्धी कठोर प्रावधानप्रति उनीहरूको गम्भीर आपत्ति छ।
हालै संसदबाट पारित भएको नयाँ भन्सार ऐन अन्यायपूर्ण भएको भन्दै महासङ्घले लामो समयदेखि यसको संशोधनका लागि दबाब दिँदै आएको थियो। तर सरकार पक्षबाट कुनै ठोस कदम नदेखिएपछि देशभरकै भन्सार सेवा बन्द गर्न बाध्य भएको महासङ्घले जनाएको छ।
महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार पेशागत हकहित र ऐनका समस्याग्रस्त धाराहरू सच्याउन माग गर्दै चरणबद्ध आन्दोलनअन्तर्गत भन्सार अवरुद्ध गरिएको हो ।
विशेषतः दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कागजात अपलोड गर्दा अनिच्छित रूपमा भएका सामान्य त्रुटिलाई समेत जरिवाना योग्य बनाइएको व्यवस्था प्रति महासङ्घको कडा आपत्ति छ।
यसअघि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा अवरुद्ध गरिएको थियो। तर माग पूरा गर्ने संकेत नआएपछि देशका सबै भन्सार कार्यालयमा काम ठप्प पार्नुपरेको घिमिरेले बताए।