काठमाडौं । टीओबी समूहका सदस्य तेन्जिन दावा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जेनजी आन्दोलनमा अशान्ति बढाएको आरोपमा पक्राउ परेका उनी विरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्।
दावा विरुद्ध लागुऔषधसम्बन्धी तथा लिखत कीर्तेसम्बन्धी छुट्टाछुट्टै अभियोग लगाइएको छ। उनको कोठाबाट गाँजा फेला परेको भन्दै प्रहरी प्रशासनले लागुऔषध मुद्दा दायर गरेको हो।
त्यस्तै उनको साथबाट बरामद भएका नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र समेत कीर्ते भएको ठहर गर्दै लिखत कीर्ते मुद्दा समेत दर्ता भएको छ।
प्रहरीका अनुसार दावाले गलत विवरण पेश गरी काठमाडौं प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिई सोही आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी समेत बनाएका थिए।
उनले आफ्नो नागरिकतामा बाबुको नाम ‘कृष्णबहादुर लामा’ उल्लेख गरे पनि सो नाममा उल्लेखित व्यक्तिले दावालाई नचिन्ने बताएका थिए।
तेन्जिन दावासम्बन्धी मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा परेको छ। बयान प्रक्रिया सकिएपछि थुनछेक बहस हुने र अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि साधारण तारेख वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्ने बताइएको छ।
यसअघि दावामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो। त्यतिबेला उनी काठमाडौं प्रशासन कार्यालयले तोकेको ७ हजार ५ सय रुपैयाँ धरौटी तिर्नुपर्ने अवस्थामा थिए। तर लागुऔषध र कीर्तेसम्बन्धी थप अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो।
जेनजी आन्दोलनमा घुसपैठ गरेको आशंकामा अनुसन्धानमा परेका टीओबी समूहको फ्री तिब्बत आन्दोलनसँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको नतिजा प्रहरीले सार्वजनिक गरेको छ। तीन महिनाको अनुसन्धानपछि दावाबाहेक टीओबीसम्बन्धित अन्य व्यक्ति तिब्बती मूलका नभएको पनि प्रष्ट पारेको छ।
जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएका व्यक्ति तेन्जिन दावाबाहेक अरू कसैलाई फेला नपरेको प्रहरीको भनाइ छ। समूहका अन्य सदस्यहरूको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रहरीले टीओबीलाई ‘द ओरिजिनल ब्रदर्स’ भनेर बुझिने गरेको र यो समूह मुख्यतः बाइकर्स समूहको रूपमा सक्रिय रहेको जानकारी दिएको छ।
भदौ २३ र २४ मा बुलेट बाइक पड्काउँदै हिँड्ने घटना पनि यसै समूहसँग जोडिएको प्रहरीले जनाएको छ।