दाङको खानेपानी आयोजनामा अनियमितता : तत्कालीन कार्यालय प्रमुखसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा दाङका तत्कालीन कार्यालय प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। हरिगाउँ खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धी ठेक्कापट्टामा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुबिरुद्ध मुद्धा दर्ता गरेको हो ।

अख्तियारले पूर्व–इन्जिनियर वसन्तकुमार दुलाल, अधिकृत माधवप्रसाद तिमिल्सेना, पूर्व–सबइन्जिनियर नुतन आचार्य, लेखापाल मनोज विष्ट तथा जयकाली ड्रिलिङ्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.का सञ्चालक शेखर शर्माविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रतिवादीहरूबाट ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो कायम गरी उक्त रकम असुलउपरसहित कारबाहीको माग दाबी गरेको छ। डिभिजन कार्यालयका पाँच कर्मचारीलाई एकमुष्ट बिगो कायम गरी सजायको माग गरिएको छ भने ठेकेदार शर्मालाई मुख्य कसुरदार सरह समान बिगो तोकिने उल्लेख छ।

आर्थिक वर्ष २०८०-८१ का लागि आह्वान गरिएको खानेपानी तथा सरसफाइ आयोजनामा बढी मूल्य कबोल गर्ने जयकाली ड्रिलिङलाई गैरकानुनी रूपमा ठेक्का दिइएको अनुसन्धानबाट खुलासा भएको छ। दियालो ड्रिलिङ प्रा.लि.ले १८ लाख ३ हजार २ सय ३० रुपैयाँमा काम गर्ने प्रस्ताव प्रस्तुत गरेको भए पनि जयकालीलाई ३० लाख ६३ हजार २ सय ३७ रुपैयाँमा ठेक्का हस्तान्तरण गरिएको फेला परेको छ।

आयोगका अनुसार बोलपत्र तयार गर्ने चरणमै कर्मचारी र जयकालीबीच मिलेमतो गरिएको थियो, जसको आडमा कम कबोलकर्तालाई पन्छाएर अधिक रकम कबोल गर्ने फर्मलाई ठेक्का सुम्पिइएको पुष्टि भएको छ।

सिफारिस