काठमाडौं । लागु औषध तथा लिखत कीर्तेसम्बन्धी छुट्टाछुट्टै अभियोगमा पक्राउ परेका तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जिङ दावा ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। दावालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
दावा भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी) लेखिएको ज्याकेट लगाएर प्रदर्शनमा सहभागी भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार तेन्जिङमाथि अभद्र व्यवहार, लिखितसम्बन्धी मुद्दा तथा नागरिकता–राहदानीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। उनलाई पक्राउ गर्दा गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, टीओबी समूहसँग सम्बन्धित १३ वटा बुलेट र पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भदौ २३ गते दिउँसो करिब १२ बजे बिजुलीबजार क्षेत्रमा पुगेका दावासहितको समूहले बाइक ‘पड्काउँदै’ नारा–जुलुस निकालेको र भीडलाई उत्तेजित गर्ने गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीका अनुसार, दावाले आफू ‘आधा तिब्बेतियन’ भएको बताएको र समूहका अन्य सबै सदस्य नेपाली मूलका रहेको खुल्न आएको छ। हिरासतमा रहँदा दावाले भीडलाई उत्तेजित गर्ने गल्ती गरेको बताएका थिए ।