दुबईमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीको विचल्ली (भिडियोसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौंः अध्ययनका लागि दुबई पुगेका एक नेपाली विद्यार्थी ठगी र दुव्र्यवहारको शिकार भएका छन् । बागबजारस्थित ओएसिस एक्जुलियरी कन्सल्टेन्सी स्टडी इन (Oxbridge international consultancy (oiic) मार्फत विदेश अध्ययनका लागि दुबई पुगेका बेदकोट नगरपालिका–९ कञ्चनपूर घर भएका सुनिल विष्टले भिडियो मार्फत आफू ठगीएको बताए।

अध्ययन गर्नको लागि २०२४ मा उनी दुबई पुगेका थिए । कन्सल्टेन्सीले इन्टर्नसिप छान्न पाउने, यूरोप जान पाउने लगायतका आश्वासन दिएपछि आफू जानको लागि तयार भएको बताए । अध्ययनका लागि विष्टले कलेज शुल्क वाफत करिब ३ हजार ५ सय डलर र अन्य सर्भिस भनेर बुझाए पनि दुबइ पुगेपछि भने कक्षा नै नभएको उनले बताए । ‘कहिले मेडम भ्याकेशनमा भन्थे, कहिले अर्को हप्तादेखि क्लास भन्थे । काम खोज्दा डिसिप्लिन तोडिस् भनेर धम्की दिन्थे’ उनले भिडियोमा भनेका छन् ।

उनले जर्जियन सरकार र नेपाल सरकार दुवैसँग न्याय मागेका छन् । दुबई हुँदै जर्जिया पुग्दा ४ हजार अमेरिकी डलरभन्दा बढी रकम गुमाएको, गम्भीर मानसिक तनाव सहेको, दलालहरूले अवैध भिसा प्रक्रिया, धम्की र दुव्र्यवहार गरेको उनले भनेका छन् ।

आफूले जुटाएका सबै प्रमाणमार्फत जर्जियन सरकारले औपचारिक रूपमा दोषीहरूलाई जर्जियाभित्रै कानुनी सजाय मिलोस् भन्ने माग गरेका छन् । साथै, उनले नेपालमा बसेर विदेश पठाउने नाममा ठगी गर्ने कन्सल्टेन्सी तथा एजेन्टहरूको पनि छानबिन गरी कारबाही गर्न समेत माग गरेका छन् । भविष्यमा विदेश जाने अन्य नेपाली युवाहरू यस्ता नेटवर्कको शिकार नबुन् भन्ने उनको आग्रह छ । ‘मलाई आफ्नो पैसा मात्र होइन, न्याय र सुरक्षा चाहिएको छ,’ उनले भिडियोमा भनेका छन् ।

 

भिडियो हेर्नुहोस् :

सिफारिस